सहमती भए पद त्याग्न तयार छु : खेमराज ओली

सहमती भए पद त्याग्न तयार छु : खेमराज ओली

दैलेख : नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगर्त भोली (शुक्रवार) जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेपाली काँग्रेसका युवा नेता खेमराज ओलीले नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा जिल्ला कार्य समिति चयनका लागि यदि सहमती भयो भने आफु कुनै पनि पद त्याग्न तयार भएको बताएका छन् ।

विकास पे्रमी नेताको पहिचान बनाएका युवा नेता ओलीले भने ‘म पद र प्रतिष्ठाका लागि राजनीति गर्ने व्यक्ति होईन, कुनै पदमा नरहे पनि संगठन निर्माण र कार्यकर्ताको संरक्षणका लागि मेरो भूमिका कमि हुनेछैन् ।’

मंसिर १० गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला कार्य समितिको टुंगो सहमतीमै लगाउनु पर्ने उनको अडान छ । गुराँस गाउँपालिकाका अध्यक्ष समेत रहेका ओलीले सहमती भए आफु कुनै पदको आकाँक्षी नभएको बताए । राजनीतिक दलहरुमा अहिले विभिन्न गुट, उपगुटहरु सक्रिय भएको हुदाँ नेता तथा कार्यकर्ताहरुको निराशा हटाउन पनि सहमती आवश्यक भएको उनले    बताए ।

‘हामीले पद भन्दा पनि कार्यकर्ताको काम गर्ने हो, काम गर्ने नेतालाई पद नै चाहिन्छ भन्ने केही छैन्, प्रजातान्त्रिक आन्दोलन र संघर्षहरुलाई एकाएक रोकी राष्ट्रिय मेलमिलापको नीति लिने विपि कोइरालाका हामी कार्यकर्ता हौ, उनले फरक शक्ति र फरक विचारधारा बोकेका सँग त मेलमिलापको नीति लिए भने हामी त पाटीको आन्तरिक प्रतिष्पर्धामा छौं,’ उनले भने ‘सहमतीले संगठन बलियो हुन्छ । सबै कार्यकर्ता र नेताको सम्मानका साथै बाहिर जाने सन्देश सकारात्मक नै बन्छ । त्यसैले, सहमती बाटै सबै पदाधिकारीको टुगो लगाउन मेरो प्रयास रहनेछ । ’

प्रतिक्रिया