राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।

को हुन् राजेन्द्र लिङ्देन ?

झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बनेका थिए ।

लिङ्देनको जन्म भने वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा भएको थियो । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भएको थियो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने । २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।

पिता मानप्रसाद र माता धनकुमारीका छोरा लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् । स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी वि.सं. २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने ।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन् ।

राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए । ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएको उनी बताउँछन् । आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय मानिन्छन् ।

थापाले हार स्वीकारे

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’ खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

प्रतिक्रिया