बाटोमै छोडेका यात्रुको मृत्यु : चालकलाई सजाय !

बाटोमै छोडेका यात्रुको मृत्यु : चालकलाई सजाय !

दैलेख : नारायण नगरपालिका–५ छातिकोटका ३९ वर्षीय लालबहादुर बिक साढे १३ महिना अघि २०७७ कात्तिक ७ गते मृत अवस्थामा भेटिए । उनको हत्या गरिएको भन्ने आशंकामा पीडित पक्षले दिएको उजुरीका सम्वन्धमा घटनामा मुछिएका त्यही ठाउँका अटो रिक्सा चालक २४ वर्षीय पुस्कर बिकलाई दैलेख जिल्ला अदालतले सजाय गरेको छ ।

विहान घरबाटै अटो रिक्सामा लिएको तर मदिराले अनियन्त्रित भएका आफ्नै छिमेकी लालबहादुरलाई बाटोमै छोडेर पुस्करले परिवारजनलाई खवर गरेका थिएनन् । भोलिपल्ट विहान लालबहादुर मृत फेला परेको घटनामा चालक पुस्करको हेल्चक्¥याईं देखिएको भन्दै ५० हजार पीडित परिवारलाई क्षतिपूर्ति, २० हजार जरिवाना र आठ सय रुपैंयाँ पीडित राहत कोषमा तिर्नुपर्ने फैसला दैलेख जिल्ला अदालतले गरेको    हो ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट कसूरदार अटो रिक्सा चालक पुस्करलाई सजाय भएको र घटनामा आरोपित त्यही ठाउँका अरु चार जना ३० वर्षीय कृष्णबहादुर घले, ३८ वर्षीय नरेन्द्र थापा, २५ वर्षीय कृष्णबहादुर थापा र २८ वर्षीय गणेश थापालाई सफाई दिइएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

साढे १३ महिना अघि २०७७ कात्तिक ७ गते वडादशैंको फूलपातीको दिन आफ्नै छिमेकी अटो रिक्सा चालक पुस्करको गाडीमा विहान दैलेख सदरमुकाम पुगेर साँझ फर्किंदा मदिराले अनियन्त्रित भएको अवस्थामा घरभन्दा आधा किलोमीटर परै घल्थरचोकमा छोडेको कारण लालबहादुरको मृत्यू भएको भन्दै पीडित पक्षले पाँच जना बिरुद्ध २०७७ कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी गरेका थिए ।

अटो रिक्सा चालक पुस्कर बिकले घल्थरचोकमा छोडेको, त्यसबेलासंगै त्यहाँ झरेका भनिएका नरेन्द्र थापा, कृष्णबहादुर थापा, गणेश थापा र ८ गते विहान काठमा टीसर्ट अड्किएको देखेर त्यहाँबाट छुटाएपछि बारीको कान्लामा खसिसकेपछि ‘मरिसकेको रहेछन्’ भन्ने थाहा पाएको भन्ने बयानका आधारमा पीडित परिवारले पाँच जना बिरुद्ध किटानी उजुरी गरेका थिए ।

उजुरीपछि २०७७ कात्तिक ८ गते प्रहरीले आरोपित सबैलाई पक्राउ गरी तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७७ मंसिर ३ गते दैलेख जिल्ला अदालतमा हत्या अर्थात कर्तव्यज्यान कसूरमा अभियोग पेश गरेको थियो ।

अभियोग सम्वन्धमा भएको थुनछेक बहसपछि न्यायाधीश लामिछानेको इजलासबाट २०७७ मंसिर ४ गते पाँचै जनालाई जनही पाँच लाख धरौटीमा छाडिएको थियो । मृतकको शव परीक्षण २०७७ कात्तिक ८ गते दैलेख अस्पतालमा भएको थियो । शव परीक्षणपछि परिवारजनले आफ्नो धार्मिक सँस्कार अनुसार अन्तेष्टि गरेका थिए ।

प्रतिक्रिया