सुर्खेतमा १० हजार अट्ने रंगशाला बन्दै, मुख्यमन्त्री जीवनबहादुर शाहीले गरे शिलान्यास

सुर्खेतमा १० हजार अट्ने रंगशाला बन्दै, मुख्यमन्त्री जीवनबहादुर शाहीले गरे शिलान्यास

दैलेख : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार दर्शक अट्ने क्षमताको प्रदेश रंगशाला निर्माण सुरु भएको छ । कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि सारेको कर्णाली प्रदेश रंगशाला शिलान्यास गरिएको छ । सोमवार एक कार्यक्रमका बीच कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशाला निर्माण कार्यको शिलान्यास गरेका छन् ।

रंगशाला निर्माणका लागि कात्तिक अन्तिम साता कर्णाली खेलकूद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौँबीच सम्झौता भएको थियो ।

कर्णाली प्रदेश सरकारले असार १६ गते रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रुपमा निर्माण अघि बढाउने निर्णय गरेको थियो । सोहि अनुसार रंगशाला निर्माणका लागि प्रदेश सरकारले पहिलोपटक ग्लोबल टेण्डर आव्हान गरेको थियो । टेन्डर प्रक्रियामा सहभागी भएका ६ कम्पनीमध्ये एमएसीजिएसएल ज्वाइन्टभेन्चर छनोट भएको थियो ।

रंगशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा लिएको प्रदेश रंगशाला निर्माणको काम निर्धारित समयसिमाभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । ‘दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना कर्णालीले गर्नुपर्नेछ, त्यस अगावै हाम्रा पूर्वाधारहरु व्यवस्थित भइसक्नुपर्छ’ मुख्यमन्त्री शाहीले भने ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार एक अर्ब ५९ करोड ४७ लाखको लागतमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ । रंगशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै अत्याधुनिक संरचनाहरु निर्माण हुनेछन् ।

रंगशालामा संरचनाहरू भुकम्प प्रतिरोधक बनाइनेछ । भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र विकास हुन नसकेका बेला रंगशाला निर्माणले कर्णालीका खेलाडीहरु उत्साही बनेका छन् ।

प्रतिक्रिया