रजनोवृद्धिबारे बहस कहिले ?

        राधा पौडेल   |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७८     ::: 207 पटक पढिएको   |  

राधा पौडेल- महिनावारीको रगत अशुद्ध, फोहोर, भन्ने हाम्रो समाजले यो बेलामा के–के गर्न हुन्छ/हुँदैन भनेर आफैं नियम बनाइदिएको छ । महिनावारी भएको बेलामा जनै लगाएका पुरुषलाई छुन हुँदैन, भान्सामा जान हुँदैन, ठाउँ र परिवेश अनुसार के खान हुने के नहुने, कहाँ जाने/नजाने, कसलाई हेर्न हुने/नहुने भन्नेबारे हामीलाई  सिकाइएको छ ।

काठमाडौंमै जन्मे हुर्किएकाहरूमा चारदेखि सात दिनसम्म महिनावारी बार्ने युवतीहरू पनि छन् । यो अवधिभर उनीहरू भान्छामा जान, दाजुभाइ र परिवारसँग एउटै ठाउँमा बसेर खाना खान पाउँदैनन् ।

यसले हाम्रो संविधानमा लेखेको अधिकार जस्तै सम्मानपूर्वक जिउन पाउने अधिकार, स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार, खाना र स्वास्थ्यको अधिकार, छुवाछूतविरुद्ध सामाजिक न्यायको अधिकार हनन भएको छ ।

महिनावारीमा हुने विभेद पाँच दिनमा मात्रै सीमित छैन, मृत्युपर्यन्तसम्म छ । यस अर्र्थमा भन्नुपर्दा महिनावारीको विभेद गर्भदेखि चिहानसम्म छ । त्यसैले यो लैंगिक हिंसा हो ।

जो व्यक्ति पाठेघर र अण्डाशय लिएर जन्मिएको हुन्छ उसको मानव अधिकार, मौलिक हक त पल पलमा हनन हुने भयो ।

त्यसैले यो नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने लैंगिकतामा  आधारित हिंसाविरुद्धको अभियानको १४ औं दिन डिसेम्बर ८ तारिक लाई २०१९ बाट मर्यादित महिनावारी दिवस भनेर मनाउन थालिएको छ ।

यो दिवसको सुरुवात नै हामीले गरेका हौं । त्यतिखेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ हुनुहुन्थ्यो । उहाँले यसलाई मन्त्रालयमा अनुमोदन गर्नुभयो । दोस्रो वर्षमा हामीले तीनदिने अन्तर्राष्ट्रिय गोष्ठी गर्यौं ।

त्यतिबेला ‘महिनावारीका कुरा मर्यादा केन्द्रित भए मात्रै हुन्छ पूरा’ भन्ने नारामा हामीले अन्तर्राष्ट्रिय कार्यशाला गर्यौं जुन योसँग सम्बन्धित संसारकै पहिलो कार्यशाला गोष्ठी हो ।

यसपालि हामीले स्कटल्याण्डका प्रतिनिधिको नेतृत्वमा ग्लोबल समिट आयोजना गर्दैछौं । यस वर्षको मर्यादित महिनावारी दिवसको नारा हुनेछ, ‘मर्यादित रजानोवृद्धि हाम्रो मानव अधिकार ।’

राष्ट्रिय महिला आयोगको अगुवाइमा आज यो कार्यक्रम हुँदैैछ । यो वर्ष हामीले महिनावारी सुक्ने विषयलाई उठान गरेका छौं । मर्यादित महिनावारी आफैंमा एक बृहत् अवधारणा हो । यसले जन्मदेखि मृत्युपर्यन्तसम्म महिनावारीसँग सम्बन्धित सवाललाई सम्बोधन गर्छ । त्यसैले रजनोवृद्धि पनि यसकै अंग होे ।

मर्यादित महिनावारी जीवनचक्रीय अवधारणााका आधारमा यसपालिको नारा मर्यादित रजनोवृद्धि कसरी बनाउने र यो कसरी मानव अधिकार हो भन्ने विषयलाई लिइयो ।

किनभने, नेपाल मात्रै नभएर संसारभर महिनावारीबारे लुकेरै भए पनि अलि–अलि कुरा हुन्छ । तर महिनावारी सुक्नेबारेमा कतै पनि चर्चा हुँदैन ।

चाहे त्यो अपरेसन गरेर सुकेको होस्, २५/२६ वर्षमै सुकेको होस्, उमेर भएर या औषधि सेवन गरेर सुकेको होस्, यसबारेमा कुरा गरिएको छैन ।

संसारभर यत्तिका मेडिकल कलेज छन् तर उनीहरूले यसका लागि प्रयोग हुने औषधि र हर्मोनजस्ता मेडिकल कोणबाट मात्रै सोचेका छन् । तर यो मानव अधिकारको विषय हो । यसले समाजलाई कसरी असर गरेको हुन्छ भन्ने छलफल नै भएन । विकसित देशहरूको अवस्था पनि यस्तै छ ।

महिनावारी सुक्ने भनेको अण्डाशयले निकालिरहेको हर्मोन बन्द हुनु  हो । त्यो बन्द भइसकेपछि महिनावारी रोकिन्छ । महिनावारी भइरहेको बेलामा हाम्रो हड्डी, मष्तिष्क र मुटु स्वस्थ्य हुन्छ ।

यी तीनै चिज बलियो बनाउन महिनावारीको भूमिका हुन्छ । महिनावारी सुक्नेबित्तिकै त्यसमा समस्या आउँछ । तर यो समस्याले अरू समस्याको चाङ पनि सँगै बोकेर आउँछ ।

जस्तै, चिटचिटाहट लाग्ने, यौन सम्पर्क गर्न मन नलाग्ने, मुड स्विङ भइरहने, छिनमै गर्मी छिनमै जाडो हुने, योनी सुक्ने/खुम्चिएको हुन्छ ।

यो त महिनावारी सुक्दाको शारीरिक पीडा भयो । सँगै पारिवारिक र भावानात्मक समस्या पनि हुन्छ । घर होस् वा कार्यालय, सबै यसबारे बेखबर छन् । कारण जागिर छाड्ने, डिभोर्स गर्ने, आत्महत्या गर्नेसम्मका घटना भइरहेका छन् ।
महिनावारी सुक्दा दिनचर्या परिवर्तन हुन्छ । कपालदेखि खुट्टाको नङसम्ममा बद्लाव आउँछ । उनीहरूलाई यसबारे न कसैले सिकाउँछन् न भन्छन् नै ।

सबै समस्या एकसाथ आइपर्दा स्वभाविक हो सबै मानिस आत्तिन्छन् । त्यसपछि मर्न जाम कि के गरम् भन्ने खालको अवस्था हुन्छ । मर्यादित महिनावारी मानव अधिकारको सवाल हो भनेर बुलन्द पार्ने प्रयास गरेका हौं ।

परिवारका सदस्यदेखि कार्यालयका हाकिम सबै–सबै यसबारे जानकार हुनुपर्छ । राज्यले पनि नीति–नियम बनाउनुपर्छ । हरेक कार्यालयलाई मर्यादितमैत्री बनाउनुपर्छ भनेर हामीले यसपालि मर्यादित रजनोवृद्धिको बारेमा कुरा गरेका हौं ।
आजै हामीले ‘सर्जिकल रजनोवृद्धि’ नामक पुस्तक विमोचन गर्दैछौं । स्कटल्याण्डकी साथीले लेख्नुभएको त्यो किताबलाई मैले नेपाली अनुवाद गरेकी हुँ ।

मेरी आफ्नै दिदीको महनिावारी नसुक्दै पाठेघरको अपरेसन भयो । उहाँलाई त्यसपछि बेलाबेलामा छटपटी हुने, कुरा बिर्सेजस्तो हुने हुन्थ्यो । म नर्स पनि भएको हुनाले रजनोवृद्धि भएर समस्यामा परेका धेरैलाई भेटेकी छु । उनीहरूका समस्यालाई नजिकबाट नियालेकी छु ।

कतिलाई श्रीमान्को अनुहार हेर्नै मन लाग्दैन । यौन चाहना नै नभएपछि श्रीमान्ले शंका गर्छन्, यसको अर्कै प्रेमी पो छ कि भनेर । यौैन इच्छा नभएपछि कतिलाई त जबरजस्ती गर्ने र पिट्ने गरेको पनि भेटिन्छ ।

बुझ्ने परिवार भए भने परामर्र्शमा पनि लैजान्छन् । तर यस्तो अवस्थामा महिलालाई जिम्मेवार भएर सहयोग गर्नुपर्छ भन्ने धेरैले बुझेकै छैनन् । छोराछोरीले पनि बुझ्दैनन् । यस्ता घटना थुप्रै छन् । डाक्टरहरू यसबारे गम्भीर छैनन्, बिरामीको इतिहास राम्ररी बुझेर परामर्श गर्दैनन् ।

बिरामीलाई जम्मा दुई तीन मिनेट हेरेर चिकित्सकले मानसिक रोगको उपचार गराउन सल्लाह दिन्छन् । यो प्रवृत्तिले समस्या एकातिर, उपचार अर्कैतिर भइरहेको छ । कतिपयले पाठेघरको अपरेसन गर्दा ठीक हुन्छ भनेर त्यसै गर्छन् ।

मेरो बेलायतमा भएका साथीहरूले त आत्महत्याको प्रयास नै गरेका थिए । उनीहरू अहिले यही अभियानमा सक्रिय छन् । उनीहरूमध्ये कसैको २६ वर्षमा क्यान्सर भएका कारण पाठेघर निकालेर फालिएको छ, कसैको महिनावारीको बेलामा रगत धेरै भएर फालिएको छ ।

पाठेघर नभएपछि महिनावारी सुक्ने नै भयो । महिनावारी सुक्दा टाउकोदेखि खुट्टासम्म दुखाइ हुन्छ । यसको बारेमा न परिवारले बुझ्छ न राज्यले । अनि कहाँ जाने ? मान्छे बाध्य भएर  मर्न खोज्छ । त्यसैले अब यसमा बहस चलाउनुको विकल्प छैन ।

डाक्टर र नर्सको करिकुलममा पनि यसलाई राम्ररी समेटिएको छैन । बेलायतमा बल्ल महिननावारी सुक्ने विषयमा विद्यालयस्तरबाटै पढाउनका लागि पहल भइरहेको छ । यसबारे संसद्मा विज्ञलाई लगेर छलफल गरिसकेको छ ।

संसारमै महिला हिंसाबारे कुरा गरेको ७२ वर्ष भयो । तर महिनावारी विभेदको कारणले गर्दा मानव अधिकार हनन् हुन्छ भनेर कसैले कुरै गरेनन् ।

संसारले नै बिर्सेको कुरामा म सामान्य व्यक्तिले उठाएको यो विषय त मामुली प्रयासमात्रै हो । जसरी संयुक्त राष्ट्रसंघ (यूएन)ले १६ दिने महिला हिंसाविरुद्धको अभियानलाई अनुमोदन गर्यो, त्यसैगरी ८ तारिकको  मर्यादित महिनावारी दिवसलार्ई पनि यूएनमै लैजाने भनिएको थियो ।

तर मन्त्री परिवर्तन भएपछि नयाँ मन्त्रीले आएर फेरि काम गर्न झमेला छ । अहिले आउनुभएको महिला मन्त्रीले घर–घरबाट महिला हिंसा अन्त्य गर भन्नुहुन्छ तर महिनावारी विभेदबारे कुरा गर्नुहुन्न । त्यसैले मेरो प्रश्न छ, रजनोवृद्धिबारे बहस गर्न अब ढिलो भएन ?

(मदन पुरस्कार विजेता पौडेल पेसाले नर्स हुन् । ) nepalwatch.com बाट साभार



Leave a comment

Your email address will not be published.


*