काँग्रेसको १४औँ महाधिवेशन आजदेखि

काँग्रेसको १४औँ महाधिवेशन आजदेखि

काठमाडौँ : नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा सम्बोधनका लागि काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आएका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । विभिन्न देशबाट महाधिवेशनको सफलताको कामना गर्दै पठाइएका सन्देश पनि वाचन गरिनेछ । महाधिवेशनको सबै तयारी पूरा भएको केन्द्रीय सदस्य एवं सञ्चार तथा सूूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

शीर्ष नेता आउने

काँग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो गरिएको पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा. प्रभु बुढाथोकीले बताए । समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पनि उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।

महाधिवेशनको अघिल्लो दिन केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहीबार सभापति शेरबहादुुर देउवाको अध्यक्षतामा काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको सन्दर्भमा बसेको बैठकले चारवटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको बताए ।

शर्माले भने ‘पार्टीका महामन्त्रीद्वय डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको महामन्त्रीको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भयो, उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित भएको छ ।’

प्रवक्ता शर्माका अनुसार कोषाध्यक्ष सीतादेवी यादवका तर्फबाट लेखा समिति संयोजक श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित भएको छ । शर्माले भने ‘नेपाली काँग्रेसको आयव्यय विवरण, पार्टीको कोषमा रहेको मौज्दात रकमसहित लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । पार्टीसँग अहिले १० करोड रुपियाँ मौज्दात रहेको छ । महाधिवेशनमा केही रकम थपिनेछ ।’

कागजकै मतपत्र

नेपाली काँग्रेसको १४ आँैं महाधिवेशनमा कागजकै मतपत्रमार्फत मतदान हुने भएको छ । प्रवक्ता शर्माका अनुसार विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा छलफल भए पनि अहिलेलाई कागजकै मतपत्रमार्फत मतदान हुने निर्णय भएको छ । उद्घाटनसत्रपछि बन्दसत्र हुनेछ । बन्दसत्रको कार्यक्रम सकिएपछि मतदान नेपाल पुलिस क्लब, राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुनेछ । उनका अनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका लागि अलग–अलग मतदान गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया