श्रीमतीलाई अगुल्टोले पोलेको कसूरमा दुई वर्ष कैद !

श्रीमतीलाई अगुल्टोले पोलेको कसूरमा दुई वर्ष कैद !


दुई छोरी सहित माइतीमा बसिरहेकी हस्तना ।

दैलेख : श्रीमतिको शरीरमा तातो पानी र अगुल्टोले पोलेको कसूरमा दैलेखमा एक युवकलाई दैलेख जिल्ला अदालतले दुई वर्ष कैद, २० हजार जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र १२ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

भैरबी गाउँपालिका–५ गौरीसल्ला २६ वर्षीय पति दीपक नेपालीलाई आफ्नी श्रीमति २६ वर्षीया हस्तना नेपालीलाई पटक पटकको घरेलु हिंसापछि ज्यानै जानसक्नेसम्मको कसूर ठहर गर्दै उक्त फैसला भएको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पतिले तातोपानी र अगुल्टो प्रहार गरेपछि सख्त घाइते भएकी हस्तना नेपाली। त्यसबेला उनको दैलेख अस्पतालमा उपचार भएको थियो ।

२०७८ साउन २१ गते राति दीपकले आफूलाई देउता आएको बाहनामा हस्तना नेपालीको शरीरमा तातो पानी र अगुल्टोले पोलेको घटनामा जिल्ला प्रहरी कार्यालय दैलेखमा साउन २२ गते पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले साउन २२ गते नै पक्राउ गरेको थियो ।
दैलेख जिल्ला अस्पतालमा तीन साता उपचार गरिएको पीडितको स्वास्थ्य अवस्था र निरन्तर घरेलु हिंसा हुँदै शरीर पोल्नेसम्मको घटना गराएको भन्ने प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०७८ भदौ १६ गते ज्यानमार्ने उद्योगको अभियोग पेश गरेको थियो ।

अभियोग सम्वन्धमा भदौ १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो । आज भएको फैसला बारे पीडितको राहत र न्याय अनुभूतीमा राम्रो काम गरेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले टिप्पणी गरे ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियाने अन्तिम दिन एक जना घरेलु हिंसा पीडितले न्याय पाएकोमा आफूलाई खुशी लागेको कानूनी सहायता र उपचारमा सघाउ पु¥याएको सामाजिक सेवा केन्द्र (सोसेक)नेपालको महिला तथा बालबालिका सेवा केन्द्र/ बाल हेल्पलाइन १०९८ का संयोजक रमा श्रेष्ठले प्रतिक्रिया दिइन् ।

त्यसबेलाको घाउचोट दैलेख अस्पतालमा तीन साता उपचार पछि श्रीमानलाई थुनाएकी भनी सासु ससुरा लगायतका परिवारजनबाट असहिष्णु वातावरणका कारण घरमा बस्न नसकेपछि हस्तना तीन वर्षकी मीना र ८ महिनाकी लक्ष्मी नामका दुई छोरी सहित अहिले माइतीघर ठाँटीकाँध गाउँपालिका–३ बिसलामा बस्तै आएकी छिन् ।

फैसलाको जानकारी पाएपछि सोचे जस्तै धेरै सजाय नभए पनि कसूर ठहर गरेकोमा सन्तोष जागेको भन्दै हस्तनाले अदालतलाई धन्यवाद दिइन् । ‘मदिराको उन्मादमा त्यति धेरै चोट लागेकोले अदालतको फैसला स्वीकार्य छ’ कसूरदार दीपकको भनाई छ ।

संयोगले अभियान सुरु भएको दिन मंसिर ९ गते दैलेखमा ४० वर्षीय एक जनाले १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । तीन वर्षदेखि आफूमाथि यौन शोषण हुने गरेको र पछिल्लो पटक ०७८ साउन २८ गते बलात्कार गरे यता भागेर जिल्ला बाहिर बसेको पीडितले जाहेरीमा खुलाएकी थिइन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेत पुगी पीडितले पहिलो पटक मंसिर ६ गते खुलाएकीमा इन्सेकको पहलमा प्रहरीमा जाहेरी परेको थियो । पीडित बालिका अहिले महिला तथा बालबालिका सेवा केन्द्रको आपतकालिन आवासगृहमा संरक्षण दिइएको छ ।

प्रतिक्रिया