छाउपडी गोठ भत्किँदैमा महिनावारी सम्बन्धी अन्धविश्वास भत्किन्छ र ?

          |   प्रकाशित मितिः बिहिबार, पुस १, २०७८     ::: 100 पटक पढिएको   |  

कल्पना देवकोटा

म नेपाली समाजकी छोरी हुँ, बुहारी हुँ। म महिला भएकै कारण अधिकार, कर्तव्य र जीवनशैली पुरुषको भन्दा फरक छ। त्यसो त म महिला भएकै कारण महिनावारी हुन्छु। महिनावारी हुनु भनेको महिला हुनुमा गर्व गर्ने पहिलो स्थान हो।

महिनावारी हुँदा धेरै शारीरिक र मानसिक समस्याहरु भोग्नुपर्ने हुन्छ। पेट दुख्ने, बान्ता हुने, ढाड दुख्ने, हात खुट्टा गल्ने, धेरै रगत बग्ने, खाना खान मन नलाग्ने, हिँड्न अनि आफ्नो दैनिक कार्य गर्न पनि अफ्ठ्यारो भएको हुन्छ। महिनावारी भएकै कारण छाउपडी गोठमा सुत्नु पर्छ। एक त शरीरमा कमजोरी, त्यसैमाथि यतिका समस्यासँग जुध्नुपर्ने अनि गोठको बसाइँ! कल्पना गनुहोस् न।

सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा छाउपडी गोठ छन्। मैले दैलेखमा देखेको छाउपडी, बर्दियामा भोगेको महिनावारी अहिले काठमाडौँ बसेर लेख्दैछु। हाम्रा सुदूर र कर्णालीका जिल्लाहरु जहाँ अझै कच्ची बाटो पुगेको छैन, राम्रो अनि प्राबिधिक शिक्षा छैन, खानेपानी पनि टाढाबाट बोकेर खानुपर्छ, थोरै मात्रामा अस्पताल छन् तर डाक्टर छैनन् अनि औषधि छैनन्, खेतीका लागि सिँचाइ छैन, र वर्षभरिलाई खान पुग्ने अन्न छैन। अनि यहाँ छाउपडी गोठ हुनु ठूलो कुरा पनि त भएन नि! छ त केवल प्राकृतिक सुन्दरता र मानवबस्ती छ।

जहाँ उज्यालो छैन, त्यहाँ अन्धकारले ठाउँ ओगट्छ यो यथार्थता नै हो। त्यही अन्धकार भित्रको अर्को अँध्यारो हो छाउपडी गोठ। घरमा बस्दा भगवान रिसाउने, अनिष्ट हुने, खेती बाली नहुने, बिरामी हुने, पशु चौपाया मर्ने आदिजस्ता अन्धविश्वाससँग जीवित छ छाउपडी।

छाउपडी हटाउन प्रयास नभएको होइन। धेरै आइएनजिओ/एनजिओका योजना र कार्यक्रमहरु पनि नभएका हैनन्। तर ती सबै मट्टितेलका टुकीजस्तै भए। सामाजिक संस्था र स्थानीय निकायले आफ्नो प्रयास गरे पनि सन्तोषजनक भएन। छाउपडी गोठ भत्काउने काम मात्र भएको हो तर महिनावारी प्रतिको बुझाइलाई भत्काएको छैन।

छाउपडी गोठ भत्काउँदा झन् गाई, भैँसीका गोठ या रुखमुनि रात बिताउन महिलाहरु विवश भए। खै कसरी जान्छन् ती संस्था अनि मान्छेहरु? अनि किन भत्काउँछन् छाउपडी गोठ? महिनावारीका बारेमा सुझाइ-बुझाइ किन गर्देनन्? यसरी गोठ भत्काउँदा झन् समस्या बढेको छ। पशुलाई त एकदिन सिकायो भने उसले आफ्नो घर र रीत बुझ्छ भने मानिसले कसरी मानिसको भाषा नबुझ्नु?

संस्थाहरुलाई त केवल आफ्ना योजना र कार्यक्रम गरियो भनेर फोटो, भिडिओकै लागि भए नि छाउपडी गोठ भत्काउनु पर्यो, बजेट पास गर्नु पर्यो तर कसले, कहिले बुझाइदिन्छ महिनावारीको बारेमा? महिनावारीका बारेमा  सचेतनाका कार्यक्रम खै? गोठ त उहाँहरु आफै भत्काउनु हुन्छ। छाउपडी गोठ आफैँ गएर भत्काउने, सरकारी सेवा सुबिधाबाट बन्चित गर्छौं भनेर धम्काउने गरेर  मात्र छाउपडी हट्दैन्।

सिधैँ गएर गोठ भत्काउने मात्र संघ/संस्था र स्थानीय निकाय छन् तर सचेतनापूर्वक महिनावारी बारे बुझाएर जानकारी दिने कोही छैनन् र त आज पनि छाउपडी गोठ अझै व्याप्त छन्। जमाना कहाँदेखि कहाँ पुग्यो तर हामी भने छाउपडी गोठमै छौँ, कति लज्जापस्द कुरा हो।

पहिला छोरीलाई विद्यालय पठाइन्न थियो, उहाँहरु अहिले आमा बन्नुभएको छ। उहाँहरुले जसरी महिनावारीलाई बार्दै आउनु भो आज आफ्ना छोरी-बुहारीलाई त्यही सिकाउँदै हुनुहुन्छ। आखिर जे सिकेको छ, त्यही सिकाउने त हो। हिजो विद्यालय भएको भए, छोरीलाई विद्यालय पठाएको भए, आज त्यहाँ छाउपडी हुँदैन थिए।

र्हर्नुहोस्, जहाँ विद्यालय छन्, त्यहाँ छाउपडी गोठ छैनन्। किन कर्णाली र सुदूरपश्चिममा मात्र छाउपडी छ त? त्यहाँ अझै आवश्यकता अनुसारका विद्यालय छैनन् अनि किन नहोस् त छाउपडी गोठ! बाटो, अस्पताल, विद्यालय, खानेपानी, विद्युत-बत्ती लिएर कुनै संस्था, सामाजिक निकाय, सामाजिक अभियान्ता जाँदैनन् तर छाउपडी गोठ भत्काउन मात्र जान्छन् अनि कसरी त्यहाँ छाउपडी यथावत नहोस् त?

शिक्षा नै समाज परिवर्तनको मूल आधार हो, जसलाई बुझ्न अझै ढिलाइ हुँदैछ। महिनावारी प्रतिको गलत सोचलाई सच्याउन छोरी शिक्षालाई ध्यानमा राख्न जरुरी छ। आजकी छोरी भोलि श्रीमती अनि बुहारी हुँदै आमा बन्ने हुन्। त्यसैकारण पनि बच्चाको पहिलो सिकाइ आमाबाट हुन्छ। सबै छोरीमान्छे शिक्षित बनेर, आत्मानिर्भर भए छाउपडी प्रथा मात्र होइन, धेरै गलत प्रथाहरु भत्किने थिए।

विकट ठाउँले छोरीहरुलाई अझ उच्च शिक्षा दिन सकेकै छैन। गाउँमा विद्यालय छैनन्, बाहिर पठाउने आम्दानी छैन। पेशा र आम्दानी भनेकै कृषि हो। जमिनको उत्पादनले वर्षभर खान पुग्दैन अनि बाहिर पठाएर कसरी छोरी पढाउनु? परिवारले छोरीलाई घरभन्दा बाहिर पठाएर काम गर, पढ भनेर स्वतन्त्रता दिन पनि त सक्दैनन् किनकि छोरीहरु अझै पिँजडाको चरीजस्तै छन् र उही एसएलसी सकिएपछि बिहे अनि सन्तान जन्माउने। एकजोर राम्रा कपडा र एक छाक मिठो नखाइ पूरै जीवन सकिन्छ।

योजना र कार्य शान्त र सचेत परिवर्तनबाट मात्र सम्भव हुन्छन्। महिनावारीका बारेमा सचेत बुझाइ आत्मसाथ गर्न सिकाउन र गलत सोचाइलाई च्यात्न जरुरी छ। केही केही चिज गाह्रो पनि छ। जस्तो कि आफूभन्दा ठूलालाई मान्नु पर्ने, उहाँहरुको कुरालाई आदर गर्नुपर्ने अनि आफूले जानेको तर गलत हो भन्ने थाहा हुँदाहँदै पनि त्यही भोग्नु पर्ने स्थिति  हुन्छ।

तत्कालै छाउपडी गोठ भत्काएर सिधैँ भान्सासम्म पुर्याउन समय लाग्छ तर त्यसलाई व्यवस्थित भने पक्कै गर्न सकिन्छ। मैले भोगेको बर्दिया जहाँ चौधरी समुदायको बाहुल्यता छ, त्यो परिवारमा को महिनावारि भएको छ भन्ने पत्तो हुँदैन। राम्रा उदाहरणहरु हामीले यस्तै समुदायहरुबाट पनि सिक्न आवश्यक छ।

आमा सुनाउनु हुन्छ, ‘कसैले नदेख्नेगरी नुहाउनु पर्थ्यो। घडी थिएन, भए पनि हेर्न नजान्ने! बिहान भएछ क्या हो भनेर नुहाएँ। माघको महिना थियो, आगो बालेर बसेँ। तातोले निदाएछु। साथीले बिउझाउँदा बाटोमै निदाएकी रहेछु।’ सुन्दा कथाजस्तो लाग्छ तर पनि यो वास्तविकता मेरो मस्तिष्कमा जीवित नै छ।

परिवर्तन हुन्छ, भएको पनि छ। हिजो हजुरआमा र आमाले जति कठोर छाउपडी गोठमा आफ्नो महिनावारी बिताउनु भो, आज मेलै त्यो भाग्नु परेको छैन। भोलि मेरो छोरीले मेरो जति नि भोग्नु पर्ने छैन किनकि म शिक्षित आमा बन्नेछु। मेरी नातिनीहरु आफू महिनावारी भएको जानाकारी दिन आवश्यक नै ठान्ने छैनन्। यो समय र शैक्षिक शिक्षासँगै समाप्त भएर जाने कुरा हो।

महिनावारी चलन वा परम्परा हो भनेर बार्नु गलत हो तर महिनावारी हुँदा आरामको जरुरी हुन्छ। त्यसैले गह्रुँगो पारिवारिक काम नगर्नु हाम्रो शैक्षिक ज्ञान हो। परिवार, समाजले जे सिकाउँछ, त्यही सिक्ने हो। म शिक्षित छु, पढेकी छु, महिनावारी बारे सचेत पनि छु कि यो एक सुन्दर प्राकृतिक प्रकिया हो जसलाई बार्नु पर्ने वा भगवान् रिसाउँछन् कि भनेर आफूलाई सीमित पार्नु पर्दैन।  सेतोपाटीबाट



Leave a comment

Your email address will not be published.


*