काँग्रेसका प्रभावशाली नेत्रीहरू विजयी

काँग्रेसका प्रभावशाली नेत्रीहरू विजयी

काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा प्रभावशाली नेत्रीहरू निर्वाचित भएका छन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा अनुभवी नेत्रीहरू विजयी भएका हुन् ।

घिमिरेका अनुसार संविधान सभा सदस्य डा. आरजु राणा देउवा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् । उनले दुई हजार ५३६ मत प्राप्त गरिन् । सामाजिक एवं राजनीतिक अभियानमा सक्रिय ने त्री डा. राणाले मनोविज्ञानमा विद्यावारिधि (पीएचडी) गरेकी छिन् । डा. राणा महिला सशक्तीकरणदेखि विकासका अनेकौँ गतिविधिमा सक्रिय रहँदै आएकी छिन् । उनि प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन् ।

त्यसै गरी खुलातर्फ केन्द्रीय सदस्य पदमा डा. डिला पन्त सङ्ग्रौला दुई हजार ८८५ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । प्रतिनिधि सभा सदस्य डा. सङ्ग्रौला नेपाल महिला संघको पूर्व अध्यक्ष समेत हुन् । काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी छिन् । उनले दुई हजार ७१८ मत प्राप्त गरिन् । संविधान सभा सदस्य एवं सांसद भुसालले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर उर्तिण गरेकी छिन् । यसअघि पनि उनि केन्द्रीय सदस्य थिइन् ।

यसै गरी पूर्वमन्त्री एवं नेपाल महिला संघकी पूर्वअध्यक्ष अम्बिका बस्नेत महिला खुलातर्फ केन्द्रीय सदस्यमा दुई हजार ३३९ मतसहित विजयी भएकी छिन् । काँग्रेसको आन्तरिक संगठनमा निकै प्रभावशाली नेत्रीका रूपमा परिचित बस्नेत यसअघि केन्द्रीय सदस्य र संविधान सभा सदस्य थिइन् ।

संविधान सभा सदस्य ईश्वरी न्यौपाने दुई हजार २५९ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । पूर्वराज्यमन्त्री सरिता प्रसाई दुई हजार ९६ मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् । यसअघि आमन्त्रित केन्द्रीय सदस्य रमा कोइराला पौडेल एक हजार ८५८ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएकी छिन् । । उनी ट्रेड युनियन काँग्रेस हुँदै पार्टीको राजनीतिमा सक्रिय छिन् ।

नेपाल महिला संघ झापाकी पूर्वअध्यक्ष सुशीला ढकाल आचार्य एक हजार ८०४ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनि लामो समयदेखि महिला अधिकार र समानताका पक्षमा बहस गर्दै आएकी छिन् । सांसद रङ्गमती शाही एक हजार ७८९ मत प्राप्त गरी विजयी भएकी छिन् । नेपाल महिला संघ हुम्लाकी पूर्वअध्यक्ष शाही २०६० सालदेखि काँग्रेसको सक्रिय राजनीतिमा छिन् ।

यसैबीच प्रदेश २ महिला केन्द्रीय सदस्य पदमा पूर्वउपसभामुख चित्रलेखा यादव निर्वाचित भएकी छिन् । यसअघि केन्द्रीय कोषाध्यक्षमा निर्वाचित यादवले विभिन्न समयमा सांसदको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेकी छन् । केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदका लागि भएको मतदानमा मदनकृष्ण श्रेष्ठ एक हजार ६४० मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार दुई हजार १७१ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिक्रिया