इतिहासमै पहिलो पटक काँग्रेस दैलेखले पायो केन्द्रीय सदस्य

इतिहासमै पहिलो पटक काँग्रेस दैलेखले पायो केन्द्रीय सदस्य

दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काँग्रेस दैलेखले पहिलो पटक केन्द्रीय सदस्य पाएको छ । इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य आदीबासी जनजाती महिलातर्फ सीता कुमारी राना निर्वाचित भएकी हुन् । नेपाली काँग्रेसको हालै सम्पन्न महाधिवेशनबाट आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ चुनावी प्रतिश्पर्धामार्फत राना निर्वाचित भएकी हुन् ।

आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ पदका लागि ३३ जना चुनावी प्रतिश्पर्धामा थिए । रानाले एक हजार ८ सय ३५ मतसहित जीत हात पारेकी हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा निकट रानाको जीतले काँग्रेस दैलेखबाट पार्टी केन्द्रीय तहमा पहिलो पटक प्रतिनीधित्व भएको छ ।

‘अन्य राजनीतिक दलहरुमा केन्द्रीय सदस्य हुन सहज छ, कतिपय पार्टीमा त टिके प्रथा (नेताले छानेर कसैलाई पद दिने प्रथा) ले दैलेखबाट सहजै केन्द्रीय सदस्य भईरहेका हामीले देखेका छौँ,’ काँग्रेस दैलेखका एक नेताले भने ‘पार्टीमा दैलेखलाई प्रतिनीधित्व गर्दै केन्द्रीय सदस्य पाउनु हाम्रो लागी गर्वको विषय हो ।’

केन्द्रीय सदस्यमा निर्वाचित सीताकुमारी राना को हुन् ?

सीताकुमारी राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी हुन् । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन् ।

संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दैै आएकी राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति बनेकी थिइन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन् ।

उनि २०६७ सालयता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन् । हाल नेपाल महिला संघको जिल्ला सभापति रहेकी राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदको सूचीमा थिइन् ।

उनि नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन अन्तरगर्त दैलेखबाट अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् । केन्द्रीय महाधिवेशन प्रतिनीधि निर्वाचित हुँदा रानाले दैलेख निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट ४ सय ३ मत प्राप्त गरेकी थिइन् ।

विगत तीन दशकदेखि सक्रिय राजनीति गर्दै आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । उनि दैलेखको अग्रणी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको पूर्व अध्यक्ष हुन् । हाल उनि उक्त संस्थाको सल्लाहकार समिति संयोजक हुन् ।

यसबाहेक उनि सुरक्षित मातृत्व संजालको केन्द्रिय सदस्य हुन् । राना हालै नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनहरुमा समेत अगुवाई गर्दै आएकी छिन् ।

प्रतिक्रिया