घाँटी थिचेर श्रीमतीको हत्या

घाँटी थिचेर श्रीमतीको हत्या

रुकुम पश्चिम : रुकुमको बाँफिकोट गाउँपालिका–९ की २६ वर्षीया कमला खनालको हत्या श्रीमान्ले नै गरेको पाइएको छ । अनुसन्धानको क्रममा कमलाका २५ वर्षीय श्रीमान् दीपक भनिने दलजित खनालले आफैले श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

घाँटी थिचेर श्रीमतीको हत्या गरेको भनेर दीपकले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए । ‘दुवैजना बीच वादविवाद बढ्दै जाँदा दिपकले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक शर्माले भने, ‘थप अनुसन्धान पनि हुँदै छ ।’

शुक्रबार राति कमलाको शव आफ्नै कोठामा आफ्नै सलले झुन्डिएको अवस्थामा फेला परेको थियो । ४ महिने छोरा र श्रीमान दीपक पनि साथै रहेका बेला भएको कमलाको मृत्यु सामान्य नभएको भन्दै प्रहरीले दीपकलाई घटना स्थलबाटै नियन्त्रणमा लिएको थियो ।

अनुसन्धान गर्दै जाँदा दीपकले घाँटी थिचेर श्रीमतीको हत्या गरेर उनकै सल प्रयोग गरेर झुन्ड्याएको खुल्न आएको प्रहरीले जनाएको छ । दीपक आफैले श्रीमतीले झुन्डिएर आत्महत्या गरेको भनेर अरुलाई खबर गरेका थिए । प्रहरीले दीपकमाथि थप अनुसन्धान गर्ने भन्दै रुकुम जिल्ला अदालतबाट आाइतबार १० दिनको म्याद थप गरेको छ ।

प्रतिक्रिया