एमाले दैलेखको अध्यक्षमा शर्मा र शाहीबीच प्रतिस्पर्धा हुने

एमाले दैलेखको अध्यक्षमा शर्मा र शाहीबीच प्रतिस्पर्धा हुने

दैलेख : नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । छैठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका शर्मा र शाहीबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको हो । शर्मा प्रतिनीधि सभा सदस्य समेत हुन् । जिल्ला विकास समितिका पूर्व उपसभापति समेह रहेका शाही केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा गठित भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति दैलेखका अध्यक्ष थिए ।

अध्यक्ष पदका लागि सुरुमा ६ जनाको उम्मेदवारी परेको थियो । चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर शाही, ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, कर्णाली प्रदेश सभा सदस्य शुसिल थापा र एमाले नेता कर्णबहादुर खड्काले समेत एमाले दैलेखको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । उनिहरु चारै जनाले उम्मेदवारी फिर्तालिएपछि शाही र शर्माबीच मात्रै चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

एमाले दैलेखको उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका आठबीस नगरपालिकका मेयर खड्गराज उपाध्यायले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताए । बस्नेत औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत हुन् ।

यस्तै एमाले दैलेखको सचिवमा रुद्धबहादुर शाही र तिलक प्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ । उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ । उपसचिव महिला तर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शाहले बताए । न्यौपाने र कार्कीबीच उपसचिव महिलाका लागि चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागि भोली मंगलवार बिहान ८ बजेबाट मतदान हुने प्रमुख निर्वाचन अधिकृत शाहले बताए । उनका अनुसार नयाँ नेतृत्व चयनका लागि जिल्ला सदरमुकामस्थित कबर्ड हलमा मतदान हुनेछ । शुक्रवारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो । अधिवेशन उद्घाटनसँगै सर्वसम्मत नेतृत्व चयनका लागि भएका प्रयास असफल भएका हुन् ।

प्रतिक्रिया