‘विमानस्थल विस्तारकाे कामलाई पहिलो प्राथमिकतामा राखेर पहल गर्छुू’

‘विमानस्थल विस्तारकाे कामलाई पहिलो प्राथमिकतामा राखेर पहल गर्छुू’

सुर्खेत: सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सुर्खेत विमानस्थल विस्तारमा भइरहेको विवाद समाधानका लागि पहल गर्ने बताएका छन् । सोमवार मात्र सुर्खेतको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका रिजालले बुधवार सञ्चारकर्मीहरूसँगको भेटमा विमानस्थल विस्तारको कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने जनाएका हुन् ।

प्रजिअ रिजालले आफ्ना योजना सुनाउँदै भने, ‘यसलाई पहिलो प्राथमिकतामा राखेर विशेष पहल गर्नेछु ।’ स्थानीयको असन्तुष्टिका कारण विमानस्थल विस्तारको काम अघि बढेको छैन । गत वर्ष तीन वटै तहका सरकारले विमानस्थल विस्तारका लागि बजेटसमेत विनियोजन गरेका थिए । काम अघि नबढेपछि बजेट फ्रिज गएको छ । प्रभावित क्षेत्रको जमिन अधिग्रहणको प्रक्रिया थाल्न जग्गा रोक्का गरिए पनि स्थानीयको दबाबका कारण पुनःफुकुवा गरिएको हो ।

प्रजिअ रिजालले विमानस्थल विस्तारको लागि सम्बन्धित सरोकारवालासँग छलफल गरेर सहमति जुुटाउने प्रयास गरिने बताएका छन् । कर्णाली प्रदेशको आर्थिक तथा व्यापारिक गतिविधि बढाउन र संघीय राजधानीसँगको सहज सम्पर्कका लागि सुर्खेतमा गतिलो विमानस्थल हुन जरुरी रहेको उनले बताए । प्रजिअ रिजालले विमानस्थल विस्तार नभएसम्म विकासका अन्य गतिविधि पनि प्रभावित बन्ने जनाए ।

जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रशासन कार्यालय सधैँ प्रतिबद्ध रहेको बताउँदै उनले कर्णालीको राजधानीसमेत रहेकाले सुर्खेतमा विशेष योजना बनाएर शान्ति सुरक्षा कायम गरिने बताए । कोरोना महामारीलगायतका विपद् व्यवस्थापनका पूर्वतयारी र बजार अनुगमनलाई तीव्रता दिइने उनको भनाइ थियो ।

प्रतिक्रिया