कर्णाली सरकारले बजेट दुरुपयोग गर्‍यो : एमाले

कर्णाली सरकारले बजेट दुरुपयोग गर्‍यो : एमाले

सुर्खेत : कर्णाली प्रदेशसभाको नवौं अधिवेशन सुरु भएको छ। नवौं अधिवेशनको पहिलो बैठक बुधबार बसेको छ। संसद् बैठकमा एमालेले सरकारले गठबन्धन टिकाउनैका लागि बजेटको दुरुपयोग गरेको आरोप लगाएको छ।

संसद् बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट गठबन्धन टिकाउन राज्यको स्रोत दुरुपयोग भइरहेको आरोप लगाएका हुन्। ‘प्रदेश सरकार गठन भएको दुई महिना बित्यो। अझैंसम्म पनि मन्त्रिपरिषद्ले नै पूर्णता पाएको छैन,’ उनले भने, ‘यहाँ गठबन्धन टिकाउन नाममा राज्यको बजेट दुरुपयोग गरिएको छ।’ सरकारले वितरणमुखी बजेट र योजना ल्याएको भन्दै कँडेलले बजेट र योजनाबारे संसद्मा जानकारी दिन माग गरे।

सरकारले वितरण गरेका योजना समुदायमा नपुगेको उनको भनाइ छ। सरकारी बजेट सिधै नेता र कार्यकर्ताको झोलामा जाने गरेको उनको आरोप छ। नेता कँडेलले प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रममा पनि अनियमितता भएको बताए। ‘मुख्यमन्त्री रोजगार कार्यक्रम पारदर्शी छैन। सरकारले यो कार्यक्रमको नाममा कार्यकर्तालाई दान दिने गरेको छ। त्यो कार्यविधिमै प्रष्ट देखिन्छ,’ उनले भने।

यस्तै, पूर्वाधार विकास कार्यक्रमको कार्यविधि पनि मुख्यमन्त्री केन्द्रित बनाइएको भन्दै उनले आपत्ति जनाए। बुधबारको संसद् बैठकमा माओवादी केन्द्रको तर्फबाट सांसद ठम्मरबहादुर बिष्ट, कांग्रेसका तर्फबाट यज्ञबहादुर बिसीले र नेकपा एकीकृत समाजवादीको तर्फबाट देवी ओलीले आफ्नो भनाइ राखेका थिए। संसद्को अर्को बैठक माघ २ गते बस्नेछ।

प्रतिक्रिया