वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा !

वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा !

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। एक वर्ष लगाएर गरिएको यहाँको भौगर्भिक अध्ययनले यस्तो देखाएको हो। भूकम्प आएको खण्डमा वीरेन्द्रनगरमा बाढी र पहिरोसमेत आउने र त्यसले थप क्षति पुग्ने उक्त अध्ययनको निस्कर्ष छ।

वीरेन्द्रनगर नगरपालिकाले तयार नेपाल नामक संस्थासँगको सहकार्यमा यो अध्ययन गरेको हो। त्यसक्रममा जियो इन्जिनियरिङ कन्सल्टेन्टले एकवर्ष लगाएर वीरेन्द्रनगरमा अध्ययन गरेको थियो। सोही अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अध्ययनकर्ताले वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको बताएका हुन्। भूकम्पले मुख्य बजार क्षेत्र रहेको नगरको वडा नम्बर ६ मा धैरे भवनहरुमा क्षति गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

नगरको भौगोलिक बनावट र भवन निर्माण संहिता कार्यान्वयनको कमजोर अवस्थाले पनि वीरेन्द्रनगरमा भूकम्पको जोखिम बढी देखिएको हो। नगरका वडा नं. २, ३, ९ र १० बाढीको उच्च जोखिममा रहेको उक्त अध्ययनले औंल्याएको छ। साथै बहुप्रकोप (बाढी, पहिरो र भूकम्प) को उच्च जोखिममा रहेको क्षेत्रमा अब भवन लगायतका भौतिक संरचनाको निर्माणमा कमी ल्याउन विज्ञले सुझाव दिएका छन्। अध्ययनमा संलग्न कन्सल्टेन्टका टिमलिडर डा. दिपक चौलागाईले नगरको उत्तरी क्षेत्रमा पहिरो र दक्षिणी क्षेत्रमा बाढीका साथै भूकम्पको उच्च जोखिम रहेको पाइएको बताए।
उनले भने,‘नगरका ९, १३, १४, १५ र १६ नम्बर वडामा पहिरोको उच्च जोखिम छ, फोरलेन सडकभन्दा दक्षिणी क्षेत्रमा कालोमाटो बढी हुनाले भूकम्पको उच्च जोखिम छ। भूकम्प आएको खण्डमा पहिरो र बाढी पनि आउने जोखिम रहेकाले क्षति धेरै हुनसक्छ।’ यसकारण पनि सम्भावित नोक्सानलाई न्यूनिकरण गर्न अहिलेबाटै नगरपालिकाले भौतिक पूर्वाधार निर्माणको काममा कमी ल्याउनुपर्ने उनले सुझाव दिए। उनका अनुसार फोरलेन सडकभन्दा उत्तरी क्षेत्रमा भने केही चट्टानयुक्त माटो हुँदा भूकम्पको जोखिम कम रहेको पाइएको छ।

प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा भवन र घर निर्माणको संख्या बढेको छ। जसमा धेरैजसो भवनहरु भवनसंहिता मापदण्डअनुसार निर्माण नगरिएको अध्ययनको क्रममा पाइएको हो। वडा नं. ६ का मात्र एकहजार आठ सय ४९ वटा घरको अध्ययन गर्दा धेरैजसोले भवन निर्माण संहिताअनुसार निर्माण नगरेको पाइएको टीम लिटर डा. चौलागाईले बताए। भवन संहिताअनुसार अब पनि घरहरु निर्माण नभए भूकम्प आउँदा वडा नं. ६ मा मात्रै करिब पाँच अर्बको क्षति हुने अनुमान गरिएको छ। यो क्षति भवनको मात्रै हो। उक्त अध्ययनले अब भवन निर्माणसंहिता कार्यान्वयन गराउने, घर निर्माणको बर्गीकरण गर्न, जोखिमयुक्त भवनको सवलीकरण र भू—उपयोग योजना तयार गर्न सहयोग पुग्ने दावी गरिएको छ।

अध्ययन प्रतिवेदन बुझ्दै वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले प्रतिवेदनले दिएका सुझावका आधारमा नीति बनाएर कार्यान्वयन गरिने बताए। सम्भावित क्षतिलाई कम गर्न नगरपालिकाले भवनसंहितालाई कडाइका साथ कार्यान्वयन गराइने उनको भनाइ छ। उनले कर्णालीको राजधानी सहर वीरेन्द्रनगरको सुन्दरतालाई कायमै राख्नका लागि बहुप्रकोपको उच्च जोखिममा रहेका क्षेत्रलाई ध्यान दिँदै भवन निर्माणलगायतका काममा कमी ल्याउने प्रतिबद्धता जनाए। नगरको एक्लो प्रयासले मात्र जोखिम न्यूनिकरणको प्रयास सफल हन नसक्ने भन्दै उनले नगरबासीहरुलाई अब घर निर्माण गर्दा संवेदनशील बन्नसमेत आग्रह गरे।  अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया