कृषकहरुलाई सामग्री सहयोग

कृषकहरुलाई सामग्री सहयोग

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकाका कृषकहरुलाई कृषि सामग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले कृषकहरुलाई सामग्री सहयोग गरेको हो । एईआएन लक्जेम्बर्गको  सहयोगमा सोसेक नेपालले ठाटीकाँध गाउँपालिकामा गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत कृषकहरुलाई सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक जीवराज रेग्मीले बताए ।

सोमवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाको उपस्थितीमा कृषकहरुलाई सामग्री वितरण गरिएको हो । गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले कृषकहरुलाई सामग्री हस्तान्तरण गरेका छन् ।  कार्यक्रम संयोजक रेग्मीका अनुसार ३२ जना कृषकलाई ६ लाइनको पाइप सहितको सरल थोपा सिचाई ड्रम, ३२ जना कृषकलाई पलाष्टिक टनेल र तरकारीका बीउ सहयोग उपलब्ध गराईएको छ ।

कृषकहरुलाई टमाटर, फर्सी र काक्राको बीउ सहयोग उपलब्ध गराइएको हो । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका सहित एक सय जना कृषकहरुलाई तरकारीको बीउ दिइने कार्यक्रम संयोजक रेग्मीले बताए । उनका अनुसार कार्यक्रम मार्फत कृषि प्राविधिकले कृषकहरुको घरदैलोमै पुगेर तरकारी खेतीका लागि प्राविधिक सहयोग प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया