आलु र गहुँको बीउ परीक्षण

आलु र गहुँको बीउ परीक्षण

दैलेख : जिल्लाका दुल्लु नगरपालिका–९ मा आलु र गहुँको बीउ परीक्षणमा ल्याईएको छ । यहाँ गठित पिपल चौतारी कृषि समुहले बीउ परिक्षणमा ल्याएको हो । आलु र गहुँका पाँच/पाँच जातको बीउ परिक्षणका लागि लगाईएको कृषि समुहले जनाएको छ । ब्याड बनाएर बीउ परिक्षणका लागि लगाईएको छ ।

आलुको स्थानीय जात, खुमलउज्जवल, कुफ्रि ज्योती, खुमलविकास र कार्डिनल गरी पाँच जातको बीउ परिक्षणका लागि लगाईएको कृषि समुहका अध्यक्ष कृष्ण पाण्डेले बताए । उनका अनुसार गहुँको स्थानीय जात, सुर्मा, खुमलशक्ति, कौटिला र स्वर्गद्धारी गरी पाँच जातको बीउ परिक्षणका लागि राखिएको छ ।  स्थानीय ६ जना कृषकहरुले बीउ परिक्षण गरिरहेको पाण्डेले बताए ।

यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा दुल्लु नगरपालिकामा सञ्चालित जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजनाले बीउ परिक्षणका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । बीउ परिक्षणमा दुई लाख ५० हजार रुपैयाँ खर्च भएको परियोजनाले जनाएको छ ।

उक्त समुहमा ३१ जना कृषकहरु आबद्ध छन् । ‘अहिले समुहमा आबद्ध ६ जना कृषकको घरमा गरिएको बीउ परिक्षणपछि कुन जातको बीउ सबै भन्दा राम्रो हुन्छ र धेरै उत्पादन हुन्छ सोहि बीउलाई सबै कृषकहरुले व्यवसायिक रुपमा खेती गर्नुहुन्छ, यो एक प्रकारको अनुसन्धान पनि हो,’ पाण्डेले भने ।

समुहले आफै बीउ खरिद गरेर परीक्षणमा राखिएको पाण्डेको भनाई छ । परियोजनाले आर्थिक र प्राविधिक सहयोग प्रदान गरेको पाण्डेले जानकारी दिए । परिक्षणपछि स्थानीय स्तरमा कुन जात लगाउँदा धेरै उत्पादन हुन्छ सोहि जातका बीउ सबै किसानले लगाउने पाण्डेको भनाई छ ।

प्रतिक्रिया