कसूरदार मरेपछि पनि सजाय !

कसूरदार मरेपछि पनि सजाय !

दैलेख : कर्तव्यज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्यूपछि पनि दैलेख जिल्ला अदालतले जन्मकैद सजाय गरेको छ । साविकको लाँकुरी गाविस हाल डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिकलाई हत्या गरेको कसूरमा अदालतले जीवित छँदा गरेको अपराधको भागीदार ठहर गरेको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूरदार डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका जङ्गे भन्ने शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद गरेको अदालतका श्रेस्तेदार उप–सचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

न्यायाधीश लामिछानेले फैसलामा जीवित छँदा गरेको अपराधमा सजाय गर्नुपरे पनि ‘अपराधीको मृत्यूसंगै अपराध पनि मर्दछ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त अनुसार सजाय असुल गर्नु नपर्ने ठहर्ने व्याख्या गरेका छन् ।

२१ वर्ष अघि २०५७ फागुन २६ गते बलात्कारपछि हत्या गरेको भन्ने आरोप सम्बन्धमा अघिल्लो वर्ष २०७७ पुस ३ गते जिल्ला अदालतमा दर्ता भएको अभियोग सम्वन्धमा मुद्दाको तहकीकात चलिरहेकै समयमा बिष्टको ७५ वर्षको उमेरमा २०७८ जेठ २८ गते मृत्यू भएको थियो ।

घटनाको भोलिपल्टदेखि फरार भएका बिष्ट सिकिस्त बिरामी अवस्थामा २०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए । सुर्खेतमा छन् भन्ने जानकारी पाएपछि उमेरले बुढो र बिरामी पनि भएकोले प्रहरीले फरारको सूचीमा राखेर अनुसन्धान गरेको थियो ।

उनी छिमेकी जिल्लामा बस्दै गरेका भन्ने जानकारी र घटनाको २० वर्ष पुग्न लागेको कारण जनाउँदै प्रहरीले मुद्दा जगाएर बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकील कार्यालयले २०७७ पुस ३ गते जिल्ला अदालतमा कर्तव्य ज्यान सम्वन्धी अभियोग दर्ता गराएको थियो ।

घटना हुँदा ५४ वर्ष उमेरका बिष्ट त्यस लगतै फरार रहेका, सधैं मदिरा सेवन गरिरहने, महिलाहरुसंग जिस्किने स्वभाव भएका कारण बलात्कारपछि कसूरदार बिष्टले नै मृतक डिलकुमारी बिकलाई हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चुप्रा बजारमा चामल किनेर घर फर्किने क्रममा साँझ पानी पिउन भनी बाटोमा पर्ने जङ्गे भन्ने शेरबहादुर बिष्टको घरमा केही बेला रोकिएकी डिलकुमारीलाई तीन दिनपछि बिष्टकै घर नजिक सेरा खोल्सामा खिरोको रुखमा नाम्लोले झुण्ड्याएको अवस्थामा फेला परेकोले बिष्टले नै हत्या गरेको भन्दै श्रीमान् जीतबहादुर बिकले प्रहरीमा जाहेरी दिएका थिए ।

हत्या गरिएको भनिएकी डिलकुमारी बिक उतिबेला २५ वर्षकी थिइन् । उनका ३ छोरा मध्ये उतिबेला ७ वर्षका अहिले २८ वर्ष पुगेका जेठो छोरा चन्दन बिक र त्यसबेला ४ वर्षको अहिले २५ वर्षका माइलो छोरा छबिलाल बिकले अहिले विवाहवारी गरी दुबैका एक–एक छोराछोरी छन् । त्यतिबेला डेढ वर्षको कान्छो छोरा राजु बिक आमाको हत्या घटनाको एक महिनापछि मृत्यू भएको थियो ।

प्रहरीले तत्परता नदेखाएको कारण कसूरदारलाई जीवित छँदै पक्राउ गरेर सजाय गर्न नपाएको डिलकुमारीका श्रीमान् जीतबहादुर बिक बताउँछन् । कसूरदार मरिसकेपछि पनि कैद सजाय भएको सुन्दा अदालतप्रति धन्यवाद दिनैप¥यो तर ऊ जीवित छँदै कैद भएको भए कति खुशी हुन्थ्यौं ? बुहारी राधा बिकले भनिन् ।

अपराध हुँदाको कानून अनुसार सजाय गर्नुपर्ने कानूनी अभ्यास अनुसार मुलुकी ऐन २०२० ज्यान सम्वन्धी महलको १३ (३) अनुसार २० वर्ष कैद गरिए पनि मुलुकी ऐनको १७६ नं. बमोजिम फैसला नहुँदै अभियुक्तको मृत्यू भए सजाय भोगिरहन नपर्ने उल्लेख गरिएको छ ।

मुद्दाको तहकीकात चलिरहेको बेला कसूरदारको मृत्यू भएको अवस्थामा पनि जीवित छँदा गरेको अपराधको सजायको भागीदार हुनुपर्ने जाहेरवालाका तर्फबाट सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले बहस गरेकी थिइन् ।

प्रतिक्रिया