भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

काठमाडौं : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमी÷प्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै, विल यु बी माई भ्यालेन्टाइन ? भन्न धेरै जना १४ फेब्रुअरीलाई नै पर्खिइरहेका हुन्छन् ।

चेल्सी इन्टरनेसनलमा अध्यनरत सौगात मधिकर्मी यस दिनलाई माया गर्नेहरूको दिन भएको बताउँछन् । उनका अनुसार आफूले मन पराएका व्यक्ति पनि यही दिनको प्रतीक्षामा हुन्छ । सामान्य दिनभन्दा पनि भ्यालेन्टाइन डेमा अलि सचेत हुने भएकाले यस दिनमा माया साटासाट गर्न सजिलो हुन्छ । उनले आफूले माया गर्ने व्यक्तिलाई कति धेरै माया गर्छु भनेर ‘लभ एक्सप्रेस’ गर्ने मौका भ्यालेन्टइन डेमा नै पाइने धारणा व्यक्त गरे ।

नयाँ प्रेमिल जोडीको खोजी र प्रस्ताव राख्ने मात्र नभई विवाहितका लागि पनि प्रेम सम्बन्ध अरू प्रगाढ बनाउने दिन पनि यसलाई मानिन्छ । त्यसैले भर्खर विवाह बन्धनमा बाँधिनुभएका बालाजुका सञ्जय कार्कीलाई फेब्रुअरी ७ देखि नै फुर्सद छैन ।

एक दशकयता अत्याधुनिक प्रविधिले नेपालमा भ्यालेन्टाइन डेको रौनक ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलबाट एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ । प्रेम व्यक्त गर्न प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना–ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् ।

भ्यालेन्टाइन डेको सुरुवात इ.सं. २६९ मा रोमबाट सुरु भएको हो । नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थियो तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिएका थिए ।
झुन्ड्याइनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया