चुप्रामा नि:शुल्क स्वास्थ्य शिविर

चुप्रामा नि:शुल्क स्वास्थ्य शिविर

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजारमा शुक्रबारदेखि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। कादुरी एग्रिकल्चरल एड एसोशियएन, ब्रिटिस गोर्खाज् नेपाल पोखरा–१६  कास्कीको आयोजनामा शिविर संचालनमा आएको हो। ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको कादुरी एग्रिकल्चरल एड एसोशियएन, ब्रिटिस गोर्खाज् नेपालका एसिस्टेन्ट प्रोजेक्ट डाइरेक्टर ज्याम गुरुङ्गले बताए। शिविरमा स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, दाँत र आँखा रोगसम्बन्धी विशेषज्ञले सेवा दिनेछन्।

गुरुङ्गका अनुसार शिविरका लागि जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, दन्त स्वास्थ्य विशेषज्ञ, डेन्टल सर्जनसहित ११ जना विशेषज्ञ डाक्टरको टोली खटिएका छन्। यस्तै स्टाफ नर्स, एचए सिएमए, ओटी नर्स र औषधी वितरक पनि शिविरमा खटिएका छन्। उनले गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको बताए।

चारदिनसम्म सञ्चालन हुने शिविरमा निशुल्क आँखा जाँच उपचार तथा मोतिबिन्दु शल्यक्रिया लगाएतको विशेषज्ञ सेवा प्रदान भइरहेको छ। चुप्रास्थित त्रिवेणी संगम माध्यामिक विद्यालयमा सञ्चालित शिविरमा स्त्री रोग सम्बन्धी जाँच तथा उपचार सेवा, आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया सेवा, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा र चिकित्सकको सल्लाह बमोजिम नि:शुल्क औषधी वितरण हुनेछ।

शिविर दैनिक बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। आयोजकले दर्ता समय विहान ८ बजेदेखि साँझ ३ बजेसम्मलाई समय निर्धारण गरेको छ। गाउँघरमै नि:शुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको चुप्राका युवा अगुवा हरि डांगीले बताए। शिविरमा डुङ्गेश्वर गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका, गुराँस गाउँपालिका लगाएतका स्थानका नागरिकले निशुल्क स्वास्थ्य जाँच तथा उपचार प्राप्त गर्नेछन्।

प्रतिक्रिया