स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताए । प्रधानमन्त्री देउवाले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गरे ।

‘नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो’, उनले भने, ‘सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ।’ प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो छरितो ढंगले विना कुनै मोलाहिजा सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको उल्लेख गरे ।

प्रतिक्रिया