घर-घरै धारा, स्थानीयले बिर्सिए खानेपानीको दुःख

घर-घरै धारा, स्थानीयले बिर्सिए खानेपानीको दुःख

दैलेख : डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा क्षेत्र जिल्लाको दुई वटा ठूला खोला लोहोरे र छामघाटको संगमस्थल हो। खानेपानीका लागि भने सिंगो बजार नै काकाकुल थियो। घना बस्ती रहेको चप्राका बासिन्दा बाह्रैमासे बगिरहने खोला हेर्दै खानेपानीको दुःख भुल्थे। दैलेख सुर्खेत सडक खण्डमै पर्ने चुप्रा बजारमा होटल व्यवसाय गर्दै आएका दिलबहादुर रासकोटी मगरको दैनिकी खानेपानी कै जोहो गर्दागर्दै बित्थ्यो। मगरले होटल सञ्चालनका लागि लोहोरे खोलामा बगिरहेको पानीसमेत ल्याउँथे। ‘१५ घरपरिवारका लागि एउटा धारा थियो, पानीकै लागि झै–झगडासमेत हुन्थ्यो,’ उनी भन्छन्।

उनीमात्र होइन, स्थानीय गंगा थापामगरको परिवारलाई खानेपानीको जोहो गर्न हम्मेहम्मे पर्थ्यो। उनले समुदायमा ९ घरपरिवारका लागि जडान गरिएको एउटा धाराबाट खानेपानीको जोहो गर्दै आएकी थिइन्। ‘पानीको लागि समाजमा दिनहुँ झै–झगडासमेत हुन्थ्यो,’गंगा भन्छिन् ‘कयौ दिन त खोलाको दुषित पानी पीउन बाध्य थियौँ।’

अहिले भने गंगा लगायत यहाँका स्थानीय बासिन्दा मात्र होइन् होटल व्यवसायीलाई खानेपानीको कुनै चिन्ता छैन। भनेकै बेलामा भने जति कै पानी घर आँगनकै धारामा आईरहेको छ। घरआँगनमै खानेपानी उपभोग गर्ने यहाँका बासिन्दाको सपना बल्ल पूरा भएको छ। खानेपानी लिन सबेरै लाइनमा लाग्नुपर्ने बाध्यता हटेपछि स्थानीय खुसी छन्। स्थानीय बासिन्दाहरु खेर गएको पानी सदुपयोग गरेर तरकारी खेतीसमेत सुरु गरेका छन्।

‘खानेपानी कै लागि मुहान, कुवा र खोलानाला खोज्दै हिड्नुपर्थ्यो, टोलमा खानेपानीको पालो मिचेको भन्दै झगडा पर्थ्यो,’ स्थानीय पशुपति थापा भन्छिन् ‘अहिले घर आँगनमै पानी आएपछि त्यो बाध्यता हटेको छ।’  विष्णादेवी भण्डारीले पनि घरमा नै पानीको धारा बनेपछि निकै सहज भएको बताइन्। ‘पहिला खानेपानीको जोहो गर्नै हम्मेहम्मे पर्थ्यो, चैत्र, वैशाखमा त झनै समस्या पर्थ्यो, उनले भनिन्, ‘अहिले आँगनमै धारामा पानी आएपछि धेरै सुख भएको छ नी!’

डुङ्गेश्वर गाउँपालिका–१ र २ को सिमा क्षेत्र मुखरिया मुहानबाट साढे ६ किमी लामो पाइप लाइनमार्फत चुप्रामा पानी वितरण गरिएको छ। जसका लागि मुखरिया खानेपानी तथा सरसफाई योजना कार्यान्वयन गरिएको थियो। एक करोड ५६ लाख ५४ हजार रुपैयाँ लागतमा भएको योजनाले स्थानीयको पानीको दुःख बिर्साइदिएको छ। डुङ्गेश्वर गाउँपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा योजना सम्पन्न भएको हो।

योजना समितिका अध्यक्ष टोपबहादुर खत्रीले चुप्राका २ सय ९४ घरधुरीमा धारा जडान बताए। योजना पूरा भएसँगै एक हजार ७ सय जना लाभान्वित भएका छन्। वडामा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालयमासमेत धारा जडान गरिएको छ। ‘घरघरै खानेपानीको धारा जडान भएपछि स्थानीय बासिन्दा खुसी हुनुहुन्छ,’खत्रीले भने ‘बिहान ७ बजदेखि साँझ ७ बजेसम्म पानी वितरण गरेका छौ।’ पानीलाई शुद्धिकरणका लागि मेसिनसमेत जडान गरिएको खत्री बताउँछन्।

खानेपानीको चरम अभाव झेल्दै आएको चुप्राका हरेक घरमा खानेपानीको धारा जडान भएपनि स्थानीयले विगतको दुःख बिर्सिएको वडाध्यक्ष लोकबहादुर डांगीले बताए। ‘टोलमा एउटा धारा थियो, पानीकै कारण उत्पन्न झै–झगडा थाम्नै समस्या हुन्थ्यो,’ वडाध्यक्ष डांगीले भने ‘अब भने खानेपानीको समस्या सधैका लागि समाधान भएको छ, योजनालाई दिगो बनाउन उपभोक्तालाई सचेत गराएका छौँ।’चुप्रा बजार दैलेख सुर्खेत सडक सञ्जाल जोडिनु अघि दैलेख र समग्र कर्णालीको मुख्य व्यापारिक केन्द्र समेत मानिन्थ्यो।

प्रतिक्रिया