तीन देशका राजदूतले गरे उत्थान परियोजनाको अवलोकन

तीन देशका राजदूतले गरे उत्थान परियोजनाको अवलोकन

दैलेख : तीन देशका राजदूतले दैलेखमा सञ्चालित उत्थान परियोजनाको अवलोकन गरेका छन् । नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेज, फ्रान्सेली राजदूत जिल बुर्बाओ र जर्मनीका राजदुत थोमस प्रिन्जले परियोजनाको अवलोकन गरेका हुन् ।

जिल्लाको दुल्लु नगरपालिका र आठबीस नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

राजदूतको टोलीले उत्थान परियोजनामार्फत दुल्लु नगरपालिकामा भएका कामको स्थलगत अवलोकन तथा नगरपालिकासँग छलफल गरेका छन् । राजदूत सहितको टोली र दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल लगाएतबीच परियोजनाले गरेको कामबारे छलफल भएको छ । छलफलका क्रममा मेयर भण्डारीले परियोजनाले गरेको कामहरु प्रभावकारी भएको बताउँदै परियोजनासँग साझेदारी गर्न नगरपालिका तयार रहेको बताएका    थिए ।

यस्तै राजदूतको टोलीले दुल्लु नगरपालिका–२ स्थित सुख्खा क्षेत्रमा सञ्चालित पुन्टेआवत वडापोखरा सोलार लिफ्ट सिंचाई योजनाको पनि स्थलगत अवलोनकन गरेका छन् । यस्तै दुल्लु नगरपालिका–४ स्थित भण्डारी टोल जलवायूमैत्री कृषि नमूना गाउँमा स्थलगत अवलोकन गरिएको थियो ।

परियोजनाले गरेका कामको स्थलगत अवलोकन तथा छलफलपछि राजदूतको टोलीले परियोजनाले गरेको काम प्रभावकारी र उत्कृष्ठ रहेको प्रतिक्रिया दिएका छन् । अवलोकनका क्रममा सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगाएत समेत सहभागि थिए ।

प्रतिक्रिया