बयान बदल्ने महिलालाई तीन महिना कैद

बयान बदल्ने महिलालाई तीन महिना कैद

दैलेख : आफू माथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको व्यहोराको विपरित अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैंयाँ जरिवाना गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले उक्त सजाय गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीमा आफैले दिएको उजुरीको व्यहोरा विपरित अदालतमा उजुरीकर्ता महिलाले गाउँको रिसिइबीले उजुरी दिएको भनी बयान बदलेको कारण यो सजाय भएको हो । राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ ।

बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ कट्टी गाउँका २३ वर्षीय दिपेन्द्र चन्दलाइ अदालतले सफाई दिएपछि आजै कारागारबाट छुटेका छन् । झण्डै दुई वर्ष अघि २०७७ वैशाख २० गते आफू माथि बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते दिएको उजुरी दिएकी थिइन् ।

बलात्कार घटना लगतै आरोपित फरार भएका थिए । आरोपित फरार भएको उल्लेख गर्दै प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले १३ महिनापछि २०७८ जेठ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेश गरेको थियो ।

अभियोग दर्तापछि अदालतले म्याद जारी गरेपछि २०७८ मङ्सिर १५ गते अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि जिल्ला न्यायाधीश लामिछानेको इजलासबाट थुनामा राख्ने आदेश अनुसार आरोपित दिपेन्द्र चन्द चार महिनादेखि जिल्ला कारागारमा थुनामा थिए ।

प्रहरीमा आफैले दिएको उजुरी विपरित अदालतमा बयान बदलेको घटनामा झुट्टा उजुरी दिएको कसूरमा कैद गरिएको यो तेश्रो घटना हो । यसअघि पनि झुट्टा उजुरी कसूरमा कैद गरिएका घटनाहरु बलात्कार घटनाकै हुन् ।

आठ वर्ष अघि नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका एक किशोरबाट बलात्कृत भएको भनी दिएको उजुरी विपरित अदालतमा विवाह गर्ने गरी सहमतिमा सहवास भएको भनी बयान बदलेको घटनामा आरोपितले सफाई पाएर कारागारबाट छुट्ने र त्यतिबेला १७ वर्षीया उजुरीकर्तालाई १५ दिन कैद सुरु भएको थियो ।

त्यसैगरी पाँच वर्ष अघि महाबु गाउँपालिका–४ गैंडाबाजका एक युवकले किशोरी बलात्कार गरेको भनिएको घटना प्रहरीमा दिएको उजुरीको उल्टो अदालतमा बयान बदल्ने त्यतिबेला १६ वर्षीया उजुरीकर्तालाई पनि एक महिना कैद तोकिएकोमा कैद असुली बाँकी छ ।

प्रतिक्रिया