घर–घरमा धारा जडान भएपछि राहत (भीडियाे सहित)

घर–घरमा धारा जडान भएपछि राहत (भीडियाे सहित)

दैलेख : घरकै आँगनको धारामा पानी आउन थालेपछि डुङ्गेश्वर गाउँपालिका–२ देउली बजारकी सिता विष्ट खुसी छिन् । उनले वर्षौदेखिको दुःखबाट छुटकारा पाएकी छन् । स्थानीय २० घरका लागि जडान भएको एउटा धाराबाट पानीको जोहो गर्दै आएकी विष्ट घरमै पानी भर्न पाएपछि धारामा गएर लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको बताउँछिन् । ‘पानी भर्न धारामा गएर लाइनमा बस्नुपथ्र्यो, कयौदिन त पालो नै नपाएर फर्किनुपथ्र्यो,’ उनले भनिन् ‘अहिले घरमै धारा जडान भएपछि सहज भएको    छ ।’

स्थानीय सिता नेपाली वर्षौदेखि भोग्दै आएको खानेपानी समस्या समाधान भएको बताउँछिन् । घरमै पानी भर्न पाएपछि उनको समयसमेत बचत भएको छ । ‘खानेपानीको जोहो गर्न निकै समस्या थियो, चैत्र बैशाखमा त खानेपानीको खोज्दै कुवा र खोल्सा जान्थ्यौ,’ उनले भनिन् ‘अहिले आँगनमै खानेपानी सुविधा पाउँदा पहिलेको दुःख भुलेका छौ ।’ उनले खेर गएको पानी करेसाबारीमा प्रयोग गर्न थालेकी छन् ।

एक ग्रागी पानीकै लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताबाट छुट्कारा पाएको स्थानीय भविसरा खत्रीले बताइन् । ‘एउटै सार्वजनिक धारामा २०–२५ घरका मान्छे जाँदा समयमै पालो पाइँदैनथ्यो, यस्तो ठाउँमा अहिले हरेक घरको आँगनमै धारा भएपछि सोच्दै नसोचेको सजिलो भएको छ,’ उनले भनिन् । खानेपानीको पुस्तेनी समस्या समाधान भएसँगै स्थानीय हर्षित छन् ।
सुख्खा ग्रस्त क्षेत्र यहाँका नागरिकहरु नजिकै मूल नहुँदा पुस्तौंदेखि खानेपानीको समस्या खेप्दै आएका थिए । पर्यटकीय क्षेत्रको रुपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट पानी ल्याउन कुइया देउली खानेपानी तथा सरसफाई योजनाको कार्यान्वयनमा आएको थियो । योजनाबाट अहिले एक सय १६ धारा जडान गरिएको छ ।

कुइया क्षेत्रको मुहानबाट ल्याइएको खानेपानी घर–घरमा वितरण गरेको उपभोक्ता समितिकी अध्यक्ष टंकबहादुर ओलीले बताए । उनका अनुसार देउली बजारका लागि २०, सेर्माकोटाको थापा टोलको लागि आठ, पैयाँचौरमा पाँच, त्रिकुलेमा तीन, जनकल्याण मावीमा पाँच र तीन घनमिटरको छुट्टाछुट्टै ट्यांकी बनाइएको छ । विद्यालय, स्वास्थ्य चौकी वडा कार्यालय, सहकारी संस्थामा पनि उक्त योजनाको खानेपानी जडान भएको छ । ओलीका अनुसार हेल्भेटास नेपाल, डुङ्गेश्वर गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा योजना सम्पन्न भएको हो ।

खानेपानी योजना सम्पन्न गर्न झण्डै ८२ लाख ६ हजार रुपैयाँ खर्च भएको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड प्राविधिक जयबहादुर विष्टले बताए । योजना सम्पन्न भएसँगै स्थानीय देउली बजार, पैयाँचौर, सेर्माकोटको थापा टोल र खत्री टोल तथा त्रिकुलेका एक सय १६ घर लाभान्वित भएको विष्टले बताए । खानेपानी सुविधासँगै गाउँमा सरसफाईका गतिविधिले समेत तिब्रता पाएको छ ।

प्रत्येक घरधुरीमा एक घर एक धारा पु¥याउने लक्ष्य अनुरुप नै कुइया देउली खानेपानी योजना सम्पन्न भएको वडाध्यक्ष राजुकुमार खत्रीले बताए । वडाध्यक्ष खत्रीले वर्षौखेखि खानेपानीको अभाव झेल्दै आएका नागरिकहरुको घरघरमा खानेपानीको धारा जडान भएकोमा खुसी व्यक्त गरे ।

भीडियाे

 

प्रतिक्रिया