मलाई फलामे औजार बनाउन आउँछ

मलाई फलामे औजार बनाउन आउँछ


३४ वर्ष अघि रैनादेबी मावि टाटामाखुबाट ७ कक्षा पास गरेपछि म ८ कक्षा पढ्न दैलेख सदरमुकामको त्रिभुवन माविमा भर्ना भएँ । आइतवारको दिन विहानै पाँच दिनको लागि चामल, पिठो र तरकारी अनि पाँचै दिनका लागि पुग्ने गरी दाउरा समेत गाउँबाटै लिएर आउनुपथ्र्यो ।

पैदल तीन घण्टाको यात्रा भारीसंगै बित्यो । डेरामा भारी बिसाएर झटपट पोषाक लगाएर कक्षा भेट्टाउनु पर्ने अनि साँझ गृह कार्य सक्यो, दाउराले डेरामा खाना पकाएर खाइवरी टुकी बालेर पढ्यो । सोमवार, मंगलवार, बुधवार, बिहीवार साँझ विहानै सवेरै उठ्यो पढ्ने र खाना पकाएर खायो विद्यालय जाने साँझ गृहकार्य र खानपिन । यस्तै गरी दैनिकी चल्दथ्यो ।

शुक्रवार पनि विहान पढ्यो, खाना खायो, विद्यालय जाने अनि आधा दिन पढेर साथीहरुसंगै लस्कर लागेर साँझ घर पुगिन्थ्यो । घर पुगे लगतै शुक्रवार साँझ नै शनिवारका लागि के के काम गर्ने घरसल्लाह भइसक्थ्यो । शनिवार दिनभर घरको काम गरेर आइतवार फेरि सदरमुकामतर्फ विद्यालय समय भेटाउन खानाखर्च बोकेर प्रस्थान हुन्थ्यो, यो नियमित तालिका नै हुन्थ्यो । शुक्रवार वा आइतवार सार्वजनिक विदा परेछ भने खर्च कम बोक्थ्यौ ।

सदरमुकाम र मेरो गाउँ बिन्ध्यवासिनीको काँडाबाट आवागमन गर्ने बाटो माखु बिजौरा, नयाँगाउँ हुँदै पनि पुगिन्थ्यो । छिटो पुग्ने परे माखुबाट जार्जेखोला किमुगाउँ हुँदै बजार पुग्ने बिकल्पको छाटो पनि प्रयोग गर्दथ्यौं ।
जार्जेखोलाको बाटो हिंड्दा मूलबाटोमा घर भएकी लक्ष्मी थापाको घरमा पानी पिउँथ्यौं । त्यसबेला सात पास गरेर आठ कक्षा पढ्न आएका १३ जना मध्ये दलित म मात्र थिएँ । त्यतिबेला दलितले पानी मागे अलग्गै हात थापेर पानी पिउनु पर्दथ्यो तर संगै पढ्ने साथी भएकोले उनले हातैमा लोटा दिन्थिन् ।
यसरी नै आउँदा एक दिन भारी कान्लामा बिसाएर पानी माग्न जाँदा घरमा लक्ष्मी रहिनछिन् । उनकी आमासंग पानी मागें । आमाले पानी दिइन् । लोटा समाएर पानी पिउँदै थिएँ, आमाले सोधिन् तिमी लक्ष्मीसंगै पढ्छौ है ?
मैंले ‘हो’ भनें ।
घर काँ हो रे ?
‘मेरो घर काँडा’ भनें ।
उनले फेरि सोधिन् कसको छोरा ? अब म दलित भन्नै पर्ने समय आयो ।
‘मेरो नाम अमर सुनार हो’ भनें ।
आमाले फेरि सोधिन् ‘सँडालको छोरा ?’
मैंलै होइन भने ।
उनले मेरा गाउँका सबैलाई चिन्दिरैछन् । उनले प्रश्न तेस्र्याइन ‘काँडामा सुनार त को छन् र ?’

काँडामा सुनार त सँडाल मात्र भन्ने उनको तर्कमा मैंले थपे ‘साँडूबाट त्यहाँ बस्ती गएका सँडाल चतुरसिंह सुनार मेरो पुसाइँ हुन्, मेरो फूपू विवाह गरेपछि त्यहीँ बसेका हुन् ।’ आमाले फेरि भनिन् ‘त्यही त सँडाल वाहेक त सबै कामी हुन् ।

जुफियाँमा छातिकोटे र हाम्रो गाउँमा उनी सँडाल पुसाइँ वाहेक कोहीले सुन बनाउने काम नगर्ने वाहेक अरुको कोही नभएकोले आमाको तर्कमा अब मैंले पनि सहमती जनाउनै पर्ने भो, मैंले भनें ‘हो हामी कामी हो तर कामीले पनि सुनार लेख्दा हुन्छ भनेर लेखेको भनें ।

आमाले भनिन् ‘ए ए होला तर खासमा सँडाल वाहेक त काँडामा सबै कामी हुन् ।’ मैंले थप तर्क केही गरिन् । पिएर बचेको पानी पोखें अनि लोटा घोप्टा हालेन्, ठाडै राखिदिएँ । पानीको धन्यवाद भनें दाउरा र रासनपानीको भारी बोकेर टुनीको रुख हुँदै किमुगाउँतिर उक्लिएँ ।

म छ वर्षको छँदै मेरो बुबाको निधन भएको हो । निम्न माध्यमिक तहको पढाई चलिरहँदा पढाई खर्च जुटाउन विद्यालय विदा भएको दिन मजदूरी गर्ने, ढुंगा बोक्ने लगायतका काम गर्नु नियमित जस्तो थियो । माँगले काकाको आरानमा फलामे काम पनि गरें, मैंले हसियाँ बनाउन जानेको थिएँ । म भन्दा ६ दिन कान्छो माँगले काकाको छोरा अर्थात दौतरी भाई गगनले त्यति मेहनत गर्दैनथ्यो, विद्यालय जाने समयलाई नोक्सान नपार्ने गरी काकाले मलाई आरनको काममा लगाइरहन्थे ।

माँगले काकाको आरन वा माइला दाजुका ससुरा कविराम कामी मामाको आरनमा निमावि पढ्दै मैंले कम्तीमा ८–१० वटा हँसिया बनाएँ । कुटो, कोदालो, चुलेसी पनि बनाएँ । मावि पढ्न आएपछि चाहिँ चटक्कै छुट्यो । जार्जेखोलीकी मेरो साथी लक्ष्मीको आमाले सुनको काम गर्ने पो सुनार भनेपछि सुनको काम सिक्न पाए हुन्थ्यो भन्ने सोचें तर सिक्ने अवसरै मिलेन । के के प¥यो, प¥यो ?

नाममा सुनार लेख्ने तर फलामे काम जानेको मैंले जहिले फेसबुकमा आरनको फोटो राख्छु, किन कसैले रहर गरेको ? भन्छन् । कसैले फलामे काम गर्नेको उपहास गरेको भन्छन् । मैंले जानेको छु, बिर्सेको छैन । एउटा हँसिया बनाउञ्जेल भीडियो फाइल खिच्ने वा फेसबुकमा लाइभ देखाए मात्र पत्यार हुने छाँट देखियो ।

त्यस्तो पुष्टि देखाउने कहिल्यै मौका पर्ला नपर्ला तर तपाइँहरु यति त पत्याइदिनुस् ‘मैंले हँसिया, चुलेसी कोदालो बनाउन आउँछ । उसबेला ‘कामी’ लेख्न भन्दा ‘सुनार’ शब्द लेख्न सहज र उन्नत हो भन्ने लहर चलेको कारण मेरो नाम अमर सुनार लेखिन् पुग्यो । घरमा आरन राखिएन तर आरनको काम आउँछ, खासमा म कामी नै हो ।

आज विश्व श्रमिक दिवस सबै पौरखीहरुलाई सम्मान छ । पौरख बुझेको व्यक्ति हुनुको नाता र नेपालको कृषि प्रणालीको आधार पेशा आरनेहरुप्रति अझै धेरै सद्भाव र उच्च सम्मान छ ।

प्रतिक्रिया