जनताले गराए नेतालाई तमसुक, जनतासामु उम्मेदवारको सहीछाप

जनताले गराए नेतालाई तमसुक, जनतासामु उम्मेदवारको सहीछाप

 मतदातासँगको सम्झौतापत्रमा सहीछाप गर्दै एमालेबाट भैरवी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका सर्वराज महतारा ।

दैलेख : जब चुनाव आउँछ उम्मेदवारले घोषणापत्रमा गाउँ/नगरको विकास गर्ने बुँदा छुटाउँदैनन्। विकासको लहरले मुहार फेर्ने बुँदा प्रत्येक दलको चुनावी घोषणापत्रमा हुन्छ। तर, व्यवहारमा कमै लागू गर्छन्। जुन कुरा नागरिकले बुझ्न थालेका छन्। सचेत बन्दैछन्। चुनाव अघि हात जोडेर चाहेको पूरा गर्ने आश्वासन दिने उम्मेदवारले विजयी भएपछि आफ्नो प्रतिबद्धता भुल्ने भएकाले दैलेखमा नागरिकले उम्मेदवारलाई ‘तमसुक’ नै गराएका छन्। दैलेखको भैरबी गाउँपालिकाका मतदाताले यो अभियान नै चलाए। भ्रष्टाचार नगर्ने, गाउँको विकासमा इमान्दारितापूर्वक भएर लाग्ने जस्ता बुँदा राखेर उम्मेदवारलाई प्रतिबद्धता जनाउन लगाएका छन्। त्यो पनि काँचो कागजमा।

भैरबी गाउँपालिका–७ की ५० वर्षीया दुर्गा मिजारको घरमा धेरै आश्वासन लिएर उम्मेदवारहरू दिनहुँ झै पुगिरहन्छन्। ‘अघिपछि कहिल्यै नआउने, सन्चो बिसन्चो नसोध्ने नेताहरू पनि चुनाव आएपछि नमस्कार गर्दै आउँछन्,’ धेरै चुनावहरू देखेकी उनी भन्छिन्, ‘यसअघि पनि उम्मेदवारले धेरै सपना देखाए तर पूरा गरेनन्।’ सोही गाउँपालिकाकी पट्टु थापाले दिनहुँ झै उम्मेदवारहरूको प्रतिबद्धता सुन्नु परेको हप्तादिन भइसक्यो। अघिपछि वास्तै नगर्ने नेताहरू मतको आशले घरमा आउने गरेको थापा बताउँछिन्। उनी भन्छिन्, ‘अब प्रतिबद्धता गरेर मात्रै चुनावमा मतदान गर्ने हो।’

मतदाता आजित भएपछि उम्मेदवार पनि तमसुकमा हस्ताक्षर गर्ने राजी भएका छन्। गाउँपालिकाका उम्मेदवारले मतदातासमक्ष नै तमसुक गरे र बोलेका लेखेका कुरा पूरा गर्ने वाचा गरे। नेकपा एमालेका तर्फबाट अध्यक्षका प्रत्यासी सर्वराज महतारा, उपाध्यक्ष पदमकुमारी बिस्ट, नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार ऐनबहादुर कठायत, एकीकृत समाजवादी पार्टीबाट अध्यक्षका प्रत्यासी जगतप्रसाद आचार्य र उन्नत लोकतन्त्र पार्टीबाट मिलन ढुंगानाले मतदातासमक्ष सम्झौता मात्र गरेका छैनन्, औंठाछाप नै लगाएका छन्।

गाउँपालिकाका सचेत मतदाताले उम्मेदवार र आम नागरिकहरूको भेला गराई प्रतिबद्धतासहित ‘जनकरारपत्र’मा औंठाछाप गर्न लगाएका छन्। भ्रष्टाचार नगर्ने, जनता र स्थानीय तहको विकासमा प्रतिबद्ध रहेको भन्दै उम्मेदवारहरूले जनकरारपत्रमा सहीछाप गरेको स्थानीय अगुवा प्रसान्तसागर शर्माले बताए। ‘जहिले झुटको खेती गर्ने काम भयो। प्रतिबद्धता पत्र ल्याउने र विजयी भएपछि भुल्ने काम धेरैले गरे,’ शर्माले भने,  ‘अब हामी उम्मेदवारले जितेपछि यो पत्र देखाएर भए पनि काम लगाउँछौं।’

गाउँको विकासका लागि निष्पक्ष, पारदर्शी प्रतिबद्ध नेतृत्व चयनका लागि सचेत मतदाताहरू लागि परेको स्थानीय गणेशप्रसाद न्यौपानेले बताए। ‘हामीले गाउँपालिकाको विकासका लागि निर्वाचित हुनुअघि नै उम्मेदवारलाई प्रतिबद्ध बनाएका हौं। जनताको सामु गरेको प्रतिबद्धतालाई उहाँहरूले कार्यान्वयन गर्नुपर्छ,’ उनले भने। यस्तो कामले उम्मेदवारलाई नागरिकप्रति उत्तरदायी बनाउने न्यौपानेको भनाइ छ। एमालेबाट गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेका सर्वराज महताराले गरेको तमसुकमा पार्टीको आधारभूत सिद्धान्तहरू श्रमिकको हक र सम्मान, सुशासन र समृद्धि एवं मजदुर किसानहरूको वकालत तथा मुक्तिका साथै स्वर्गीय मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई पूर्ण आत्मसात गर्दै भैरबीबासी मतदाताकासमक्ष जनकरारपत्र गरेको उल्लेख छ। उनले गरेको जनकरारपत्रमा अध्यक्ष पदमा विजय भएको खण्डमा कार्यकालभरी भ्रष्टाचार नगर्ने। जनघात गरी एक रुपैयाँ पनि नखाने। यदि रकम खाएमा ‘बा–आमा’ को रगत खाएसरह हुने उल्लेख छ।

गाउँपालिकामा हुने हरेक नियुक्ति स्पष्ट पारदर्शी गर्ने। स्वस्थ प्रतिस्पर्धाको आधारमा योग्य, अब्बल व्यक्तिलाई नियुक्ति गर्ने। गाउँकार्यपालिकाको बैठक खुला ठाउँमा जनताको माझमा सञ्चारमाध्यममा प्रत्यक्षप्रशारण गरी देश विदेशका भैरबीवासीहरूलाई अवलोकन, मूल्यांकन तथा सुझाव दिन सक्ने गरी सञ्चालन गर्ने उनको जनकरारपत्रमा उल्लेख गरिएको छ। गाउँपालिकाको सेवा जनमुखी, सुलभ, सहज बनाउँदै कार्यपालिकामा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नभएको स्थानीय सरकारको संरचनालाई विनाकाम दलीय भागबन्डामा विभाजन हुन नदिने गरी जनतासमक्ष गरेको तमसुकमा सहीछाप गरेका छन्।

उनले जनतासमक्ष गरेको तमसुकमा उल्लेख भएका बुँदाहरूअनुसार काम गर्न नसकेमा पदबाट तत्काल राजीनामा दिएर सुशासन, विकास र पारदर्शीताको अभियानलाई सहज बनाइदिने गरी लिखितम् दायाँबाँया औंठाछाप लगाएर हस्ताक्षरसमेत गरेका छन्।

नेकपा एमालेका तर्फबाट भैरवी गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी पदमकुमारी विष्टलाई औंठाछाप गराएको पत्र

यस्तै एमालेबाट गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवार बनेकी पदमकुमारी विस्टले अध्यक्ष महताराले गरेको जनकरारपत्रमा उल्लेख भएको सबै बुँदाहरूप्रति सहमत भएको भन्दै सहीछाप गरेकी छन्। उनले न्यायिक समितिमा रहेर कसैलाई पक्षपात गरेमा, योजना अनुगमनलाई फितलो बनाएर कमिसन खाएमा, जनअपेक्षाअनुसार काम गर्न नसकेमा आफूले गरेको जनकरारपत्रलाई आधार मानेर मतदाताले दिएको कारबाही भोग्न तयार रहेको उल्लेख गरेकी छन्।

नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्षका प्रत्यासी जगतप्रसाद आचार्यले पनि मतदातासमक्ष तमसुक गरेका छन्। उनले पनि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएमा कार्यकालभरि नातावाद, कृपावाद, व्यक्तिगत स्वार्थलाई आपूm र आफ्नो पदीय अधिकारभन्दा टाढा राखेर निस्वार्थ जनताको सेवामा खटिने उल्लेख गरेका छन्। आफ्नो कार्यकालभरि भ्रष्टाचार नगर्ने, जनघात गरी एक रुपैयाँ पनि नखाने, खाए भने त्यो आफ्नो लागि बाआमाको रगत खाए सरह हुने उल्लेख गरेका छन्। नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका प्रत्यासी ऐनबहादुर कठायतले समेत सम्झौतापत्रमा सहीछाप गरेका छन्।

यस्तै उन्नत लोकतन्त्र पार्टीबाट मिलन ढुंगानाद्वारा मतदाता समक्ष गरिएको तमसुक पत्रमा चुनावका क्रममा मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने उल्लेख छ। अध्यक्षमा विजयी भएपछि पहिलो चरणमा बत्ती, पानी, स्वास्थ्य, शिक्षा र भूमिहीनहरूलाई आवास निर्देशिका बनाई निःशुल्क रूपमा उपलब्ध गराउने उनले गरेको तमसुक पत्रमा उल्लेख छ। पालिकाका सबै किसानले उत्पादन गरेको कृषिजन्य वस्तुलाई वास्तविक मूल्यमा खरिद गरी बजारीकरण गर्ने, वन्यजन्तुबाट हुने बालीनालीको क्षति तत्कालै रोक्ने र रोक्न नसकेमा पालिकाले क्षतिपूर्ति उपलब्ध गराउने उल्लेख छ।

गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षको प्रत्यासीहरूले भने जनकरारपत्र गर्नबाट पछि हटेको स्थानीय युवाले बताएका छन्। जनकरारपत्रमा औंठाछाप गरेका एमालेबाट अध्यक्षका उम्मेदवार सर्वराज महताराले आफूले सयौं जनताको सामु गरेको जनकरारपत्रमा टेकेर काम गर्ने अठोट व्यक्त गरे। ‘स्थानीय तहका जनप्रतिनिधिमाथि जनताको अविश्वास छ। यस्ता खालका जनकरारपत्र यसअघि गरेको भए ग्रामीण क्षेत्रले विकासमा फड्को मार्न सक्थ्यो,’ उनले भने। आफूले सहीछाप गरेको जनकरारपत्रमा भ्रष्टाचारको अन्त्य, सुशासन कायमलगायत गाउँपालिकाको विकासका लागि सबै विषय समेटिएको अध्यक्षका उम्मेदवार महताराको भनाइ छ। ‘हाम्रो पार्टीको उम्मेदवारका तर्फबाट जनतासमक्ष कसम खाएका छौं,’ हामी विजय भए सोहीअनुसार अगाडि बढ्छौं,’ उनले भने।

नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका ऐनबहादुर कठायतले जनकरारपत्र अर्थात् जनताका सामु गरेको तमसुकले जनप्रतिनिधिलाई मनोमानी गर्नबाट पूर्णरूपमा बन्देज गराएको बताए। ‘राजनीति सेवा हो, तर, राजनीतिलाई कमाउ धन्दाको रूपमा विकास हुन नदिन यसले सहयोग गर्छ,’ उनले भने, ‘जनकरारपत्रले जनप्रतिनिधिलाई मनोमानी ढंगबाट नभई नीति, नियम र पद्धतिअनुसार काम गर्ने वातावरण तयार गरेको छ।’ जनताको तहबाट खबरदारी जरुरी रहेको बताउँदै कठायतले यस्तो कार्य मुलुकमा सबै स्थानीय तहमा हुनुपर्ने बताए। ‘मैले सचेत मतदाताहरूको भेलामा जनकरारपत्रमा सहीछाप गरेको छु। म विजयी भएको खण्डमा जनकरारपत्रमा टेकेर काम गर्छु। त्यसलाई कुल्चिन खोजे सचेत मतदाताले सजाय दिने नै छन्। हामी पनि जनताले दिएको सजाय भोग्न तयार छौं,’ उनले भने।

मतलातासँगको सम्झौता पत्रमा सहीछाप गर्दै माओवादी केन्द्रबाट भैरवी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार ऐनबहादुर कठायत

माओवादी केन्द्रबाट दैलेख भैरवी गाउँपालिका उपाध्यक्षका उम्मेदवार ऐनबहादुर कठायतलाई औंठाछाप गराएको पत्र।

उम्मेदवारहरूले मतदातासामु गरेको तमसुकले जो निर्वाचित भए पनि गाउँको विकासका लागि प्रतिबद्ध रहनेमा स्थानीय मतदाता आशावादी छन्। गाउँपालिकाकी सरस्वती रिजालले जनप्रतिनिधि हुनु अघिले उम्मेदवारहरूलाई जनताको माझमा तमसुक गराउनुले गाउँको विकास हुन्छ कि भन्ने आश पलाएको बताइन्। उम्मेदवारहरूले जनकरारपत्र अर्थात तमसुकमा औंठाछाप गरेर जनताप्रति प्रतिबद्ध र उत्तरदायी भएको सन्देश दिएको अधिकारकर्मी हीरासिंह थापाको बुझाइ छ। यसले सुशासन कायम हुने र जनप्रतिनिधिलाई जवाफदेही बनाउनेमा आशावादी रहेको थापाले बताए।

स्थानीय तहमा उम्मेदवार बनेका नेताहरूले बालबालिकाविरुद्धको हिंसा, शोषण र दुव्र्यवहारविरुद्ध र बालविवाह, छाउपडी तथा जातीय छुवाछूत अन्त्यका लागि प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याए। सबै बालबालिकाको शिक्षामा पहुँच, बालमैत्री र गुणस्तरीय शिक्षा, बाल र किशोरकिशोरीमैत्री स्वास्थ्य र बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि पनि उम्मेदवारहरूले जनतासामु प्रतिबद्धता जनाउनुपर्ने थापाको भनाइ छ। ‘भ्रष्टाचार, सुशासन कायम गर्न र भौतिक पूर्वाधार विकासका लागि मात्र नभई सामाजिक विकासमा लागि उम्मेदवारहरूले जनतासामु आवश्यक प्रतिबद्धता जनाउनुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया