देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्छ : लिङ्देन

देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्छ : लिङ्देन

पोखरा : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । अब देश बचाउन र बनाउन कांग्रेस, एमाले, माओवादीबाट असंभव भएको दाबी गर्दै उनले राप्रपाको विकल्प नभएको बताए । पोखरामा शनिबार पार्टीको चुनावी सभामा सम्बोधन गर्दै उनले कांग्रेस, एमाले, माओवादीलगायत ठूला पार्टी गलत बाटोमा हिँडिरहेको र गल्ती सच्याउन तयार नभएको पनि बताए । देशलाई कुनै पनि दुर्घटनामा जान नदिइ बचाउने जिम्मेवारीसाथ राप्रपा निर्वाचनमा होमिएको उनको भनाइ थियो ।

आगामी निर्वाचनमा भोट हाल्नुअघि हजार पटक सोच्न उनले आग्रह गरे । पाँच वर्षमा एकदिनको एक क्षण मात्रै जनता मालिक हुने तर अरु समय सबै ठूला पार्टी र नेता मालिक भएको उनले जनाए । ‘हातै काटेर मत दिने कुरा भएकाले धेरैपटक सोच्नु होला,’ उनले भने, ‘कसैका बाबुबाजे नेता भएको आधारमा, कोही जेल बसेकै आधारमा नभई अहिले के गरिरहेका छन् भन्ने हेरेर मत दिनुपर्छ ।’

उनले ठूला पार्टीका इमान्दार र देशभक्त कार्यकर्तालाई आफ्नो पार्टी र नेता नसुध्रिएको भन्दै राप्रपामा मतदान गर्न आग्रह गरे । पार्टी छाडेर आउन समस्या भए उनीहरुको बाकस खाली हुनेगरी मतदान गर्न आह्वान गर्दै उनले कि नेतालाई सुधार्नुपर्यो नभए पार्टी छाड्नुपर्यो । कम्युनिष्टले झन्डै दुई तिहाइको जनमत र ७ वटा सरकार आफ्नै कारणले गुमाएको भन्दै उनले एमालेलाई कति सिट दिए गरिखान्छ भन्दै प्रश्न गरे ।

प्रतिक्रिया