गुराँस गाउँपालिकाले नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने

गुराँस गाउँपालिकाले नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने

दैलेख : दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नगरवासीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँपालिकामा निर्वाचित अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले पदभार ग्रहण गर्दै अरु विभिन्न निर्णयसमेत गरेका छन् ।

निर्णयानुसार अब गुराँस गाउँपालिकामा स्थायी बसोबास गर्ने दलित तथा एकल महिला घरमुली रहेको परिवारलाई प्रोत्साहनस्वरुप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा स्वास्थ्य बीमालगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गरिने भएको छ ।

यसैगरी बैंकमार्फत् वितरण गरिएको वृद्धभत्तासहितका सबैखाले सामाजिक सुरक्षाभत्ता अब भौगोलिक विकटताको कारण बैंकसँग समन्वय गरी सम्बन्धित वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापाका अनुसार गाउँपालिकाको केन्द्रलगायत विभिन्न भागमा मोबाइल नेटवर्कको पहुँच नपुगेकाले जनस्तरमा असर परेको हुँदा दूरसञ्चार प्राधिकरणसँग आवश्यक समन्वय गरी उक्त समस्या समाधान गर्ने निर्णयसमेत भएको छ ।

कक्षा १२ सञ्चालन भएका विद्यालयहरुमा वार्षिक परीक्षाको कार्यक्रम तय भैसकेको र उक्त परीक्षा सञ्चालन गर्न फर्निचर अभाव भएका विद्यालयहरुमा यथाशीघ्र फर्निचर व्यवस्थापन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया