गुजरात टाइटन्स आईपीएल क्रिकेटको फाइनलमा प्रवेश

गुजरात टाइटन्स आईपीएल  क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं : गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै नवप्रवेशी गुजरात फाइनल प्रवेश गरेको हो ।

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान हार्दिक पाण्डयले अविजित ४० रन जोडे। राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले ८९ रनको अर्धशतकीय इनिङ खेले। कप्तान सञ्जु सामसनले ४७ रन जोड्दा देबदुत पडिकलले २८ रन बनाए।​ गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डयले एक एक विकेट लिए।

जितसँगै गुजरातले डेब्यु सिजनमै आईपीएलको फाइनलमा स्थान बनाएको छ।राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ। अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

 

प्रतिक्रिया