सल्यानका चारवटा पालिकाका ४४ जना शिक्षकलाई शैक्षणिक तालिम

सल्यानका चारवटा पालिकाका ४४ जना शिक्षकलाई शैक्षणिक तालिम

सल्यान : जिल्लाका चारवटा पालिकाका ४४ जना शिक्षकलाई शैक्षणिक तालिम प्रदान गरिएको छ । जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका र दार्मा गाउँपालिकामा रहेका बिद्यालयहरुमा कक्षा १ मा नेपाली भाषा शिक्षण सिकाइ गर्दै आएका ४४ जना शिक्षकशिक्षिकाहरुलाई शैक्षिक तालिम प्रदान गरिएको हो ।

तालिममा जिल्लाका चार वटै पालिकाबाट ११÷११ जनाका दरले सहभागि भएका थिए । उनीहरुलाई प्रारम्भिक तहका साना बालबालिकाहरुलाई बालमैत्री तरिकाले कक्षामा शिक्षण सिकाइ कसरी गर्न सकिन्छ भन्ने बारेमा तालिम प्रदान गरिएको थियो ।

कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप कसरी सञ्चालन गर्ने र बालबालिकाहरुलाई पढ्ने सीप र पढ्ने बानीको विकास कसरी गराउने भन्ने बारेमा प्रशिक्षण प्रदान गरिएको साक्षरता कार्यक्रम अधिकृत बावुराम पोख्रेलले जानकारी दिए ।

यस्तै नेपाल सरकारले जारी गरेको विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र आधारभूत तह कक्षा १–३ एकिकृत पाठ्क्रममा आधारित शैक्षणिक क्रियाकलापहरुको चिनारी, सिकाइका विषय क्षेत्रहरु, शैक्षणिक रणनीति तथा साक्षरता कार्यक्रम शैक्षणिक क्रियाकलापहरुको विषयमा तालिम सहजीकरण गरिएको सिनियर साक्षरता कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिनुभयो ।

विशेष गरी नेपाल सरकारले हाल कार्यान्वयनमा ल्याएको एकिकृत पाठ्यक्रममा आधारित शैक्षणिक क्रियाकलाप र साक्षरता कार्यक्रमको शैक्षणिक ढाँचा क्रियाकलापहरुको तादाम्यता र कक्षाकोठामा साक्षरतायुक्त सिकाइ वातावरणको लागि स्थानिय सिकाइ सामग्रीको विकास र निर्माण, नमुना शिक्षण अभ्यास, स्थानिय तह तथा सरोकारवालाहरुको अनुगमण, सहयोगको प्रक्रिया लगाएतका बारेमा प्रशिक्षण दिइएको उनको भनाइ छ ।

जसअन्र्तगत बागचौर नगरपालिकाका ११ जना र दार्मा गाउँपालिकाका ११ जना गरी २२ जना शिक्षकशिक्षिकाहरुको लागि तालिम बागचौरमा सम्पन्न गरिएको छ भने शारदा नगरपालिकाका ११ जना र सिद्ध कुमाख गाउँपालिकाका ११ जना गरी २२ जनाको लागि तालिम श्रीनगरमा सम्पन्न गरिएको दलित विकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले बताए ।

रुम टु रिड, पढ्नका लागि कोठा र साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका चार पालिकाको आर्थिक सहयोग तथा दलित विकास समाज सल्यानको स्थानिय सहजीकरणमा आगामी चार बर्षका लागि जिल्लामा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ । यसअघि जिल्लाका ५४ वटा बिद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया