बाढीमा डुबेका मानिसहरुलाई उद्धार गर्न पूर्वअभ्यास

बाढीमा डुबेका मानिसहरुलाई उद्धार गर्न पूर्वअभ्यास

दैलेख : बर्षायाम सुरु भएसँगै जिल्लामा पूर्व तयारीहरु गर्न थालिएको छ । बर्षातमा निम्तिन सक्ने सम्मावित विपद्बाट हुनसक्ने क्षती रोक्न जिल्ला विपद् व्यवस्थापन समितिले पूर्व तयारीहरु थालेको हो । समितिको समन्वयमा जिल्लास्थित सुरक्षा निकायहरुले आइतवार बाढीमा डुबेका मानिसहरुलाई उद्धार सम्बन्धी घटना अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । बाढीमा डुबेका मानिसहरुलाई उद्धार गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्तरुपमा पूर्व अभ्यास गरेका हुन् ।

जिल्लाको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रास्थित लोहोरे खोलामा उक्त अभ्यास गरिएको हो । दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बाढी तथा डुवानबाट हुने जोखिम न्युनिकरणका लागि दैलेखमा पूर्व तयारीका लागि अभ्यासको आयोजना गरिएको बताए ।

उनले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटनामा वृद्धि हुने सम्भावना रहेको जानकारी प्राप्त भएकाले विपद् व्यवस्थापनका लागि पूर्णरुपमा तयारी गरिएको जानकारी दिए । पूर्व तयारी, उद्धार, पुर्नस्थपना तथा राहतका काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

अभ्यासमा घाइतेहरुको उद्धार, बाढीमा फसेकाहरुको उद्धार तथा प्राथमिक उपचारको बारेमा जानकारी समेत दिइएको थियो । बर्षायाममा आउने बाढी, पहिरो तथा डुबानलगायतका विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् ।

प्रतिक्रिया