दुधे बालक च्यापेर ‘कुमारी आमा’ अनशनमा

दुधे बालक च्यापेर ‘कुमारी आमा’ अनशनमा

काठमाडाैं : ‘कुमारी आमा’ निहारिका राजपुत तीन दिनदेखि काठमाडौंमा आमरण अनशनमा छिन् । आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । बलात्कार पश्चात् रहेको गर्भबाट उनको छोरा जन्मियो । निहारिका ३ वर्षदेखि न्यायको लडाइमा छिन् ।

उनको छोरा विआन राजपुत अहिले २१ महिनाको भए । दुई वर्ष पनि पूरा नभएका विआन अहिले आमरण अनशनमा बसेकी आमासँगै छन् । तीन दिनदेखि निहारिका आमरण अनशन बसेका कारण विआन पनि अघोषित अनशनकै अवस्थामा छन् किनकि भोकैप्यासै रहेकी निहारिकाले छोराका लागि पर्याप्त दुध खुवाउन सकेकी छैनन् । आमाको दुध बन्द भएपछि विआनले ल्याक्टोजिन तथा अन्य खानासमेत खान मानेका छैनन् ।

चार दिदीबहिनीमध्येकी कान्छी छोरी निहारिकाले आफ्नो संघर्षमा परिवारको समेत साथ पाएकी छैनन् । आमाबुवा र तीन जना दिदीले तिरष्कार गरेपछि संघर्षको मैदानमा एक्लै होमिनु परेको उनको भनाइ छ । आमरण अनशन कतिन्जेल बस्नुपर्ने हो भन्ने उनलाई पत्तो छैन तर आफूजस्ता अन्य कयौं निहारिका रहेको भन्दै उनी आफू मरेर भए पनि अरुका लागि न्याय प्राप्त होस् भन्ने उद्देश्यले संघर्षमा होमिएको बताउँछिन् ।

यस्ता छन् निहारिकाका माग

१ बच्चाको डिएनए टेस्ट ।

२ कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने न्यायाधीशको निष्पक्ष छानबिन ।

३ उच्च अदालतमा ४ महिनाअघि दर्ता भएको मुद्दाको यथाशीघ्र पेसी तोकियोस् ।

४ बलात्कारी खुलेआम हिँडिरहेको छ, प्रहरी प्रशासनले उसलाई तुरुन्त पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्ने ।

५ घटनाको सुरुवातदेखि अनुसन्धान ।

६, फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु र काखको बच्चालाई बेवास्ता गरी गरी फैसला गर्ने न्यायाधीशको अनुसन्धान र छानबिन ।

७ एक्काइस महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गर्नुपर्ने ।

प्रतिक्रिया