मानव अधिकार प्रवद्र्धनमा सबैको सहयोग आवश्यक : घिमिरे

मानव अधिकार प्रवद्र्धनमा सबैको सहयोग आवश्यक : घिमिरे

दैलेख : जिल्ला सरकारी वकील कार्यालय दैलेखका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले मानव अधिकार प्रवद्र्धनमा सबै क्षेत्रको सहयोग आवश्यक भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा आयोजना गरेको वर्ष पुस्तक घटना अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जिल्ला न्यायाधिवक्ता घिमिरेले इन्सेकले मानव अधिकार वर्ष पुस्तक र प्रकाशन गर्ने अरु प्रकाशनहरुमा अदालती भाषा प्रयोग गर्न सुझाव दिए । ‘अदालती भाषा प्रयोग भएमा घटनाको परीक्षण र पुर्नपुष्टीमा सहज पुग्छ’ उनले भने ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी भुवनेश्वरप्रसाद साहले महिला हिंसाको उपज नै बालविवाह भएकोले बालविवाह रोकथाममा नागरिक समाजको अग्रसता बढाउन आग्रह गरे ।

सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले कानूनी प्रक्रियामा नआएका र लुकेका सबैजसो घटनाहरु खोजी गरी प्रकाशनमा ल्याउन सके समाजमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक विशाल सुनारले इन्सेकको वर्ष पुस्तकमा प्रकाशित हुने घटनाहरु परीक्षण गर्ने पद्धति राम्रो भएको बताउदै आएका सुझाव अनुसार सुधार गर्दै लिन सुझाव दिए ।

अधिकारकर्मी डिलकुमारी चन्दले महिला तथा बालिका माथि हुने बलात्कार, बहुविवाह, छाउपडी प्रथा लगायत सबै प्रकारका हिंसा, जातीय विभेद हटाउन स्थानीय सरकारको तत्परता चाहिएको बताइन् ।

इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२२ को जनवरीदेखि जुन महिनासम्म संकलित ३२ वटा मध्ये तीन वर्ष मुनिका बालबालिकाको हत्या दुई, बलात्कार १०, बहुविवाह पाँच, घरेलु हिंसा नौ, बालविवाह तीन, यौनदुव्यवहारका दुई र एउटा अभद्र व्यवहार घटना अभिलेखीकरण गरिएको जानकारी दिए । संकलित घटनाका विवरणहरु सुनाइसकेपछि सरकारका निकाय र नागरिक समाजका प्रतिनिधिहरुवीच खुला छलफल भएको थियो ।

प्रतिक्रिया