काँक्रेविहार हाफ म्याराथनमा एक हजार भन्दा बढीले भाग लिने

काँक्रेविहार हाफ म्याराथनमा एक हजार भन्दा बढीले भाग लिने

सुर्खेत : अन्तर्राष्ट्रिय ओलम्पीक डे २०२२ को अबसरमा असार ७ गते मंगलवार आयोजना गरिएको काँक्रेविहार हाफ म्याराथनमा एक हजार भन्दा बढीले भाग लिने भएका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरले आयोजना गरेको उक्त म्याराथनमा विभिन्न क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बल, विभिन्न विद्यालयहरु, र खुल्ला तर्फबाट खेलाडीहरुले सहभागिता जनाउन लागेको आयोजक संस्थाका प्रोप्राइटर संजिव हमालले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन आमी क्लबबाट ४ जना, नेपाल नेपाल प्रहरीबाट ३ जना, ए।पि।एफ।बाट २ जना, नेपाली सेना पश्चिम कमाण्डबाट ११८ जना विभिन्न विद्यालयहरुबाट ११० जना अन्य खुल्लातर्फबाट २९५ जनाको सहभागिता रहने छ ।

स्थानीय वीरेन्द्रचोकबाट सुरु हुने दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताए ।

उनका अनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौंथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

यस्तै विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने छ ।

यो प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचार हुने, कर्णालीमा खेल पर्यटनको प्रवर्दन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने आयोजकको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

प्रतिक्रिया