कोतगढीमा यसरी पुर्नस्थापना गरियो ‘सुन्दरी तोप’ {फाेटाे कथा}

कोतगढीमा यसरी पुर्नस्थापना गरियो ‘सुन्दरी तोप’ {फाेटाे कथा}

नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएका सुन्दरी तोप ५१ वर्षपछि कोतगढीमा पुर्नस्थापना गरिएको छ । तस्विरहरू : हिक्मतबहादुर नेपाली ।

दैलेख : नारायण नगरपालिका–९ का पदमबहादुर बुढाथोकी वि.स. २०२० मा नेपाली सेनामा भर्ना भए । तत्कालिन समयमा जिल्लास्थित सेनाको ज्वाला दल गुल्ममा भर्ना भएका बुढाथोकी २०३९ मै रिटायर्ड भईसकेका छन् । उमेरले ७९ वर्ष पुगिसकेका बुढाथोकी बिहीवार खुसी देखिन्थे । कारण थियो, सेनामा कार्यरत रहँदा उनि आफैले पुजापाठ गरेको अर्गा र सुन्दरी मध्ये सुन्दरी तोप फिर्ता हुनु । २०२८ यता गुमनाम जस्तै बनेको सुन्दरी तोप ५१ वर्षपछि जिल्लामै फिर्ता हुँदा खुसीसँगै अर्गा तोप फिर्ता हुने अपेक्षा व्यक्त गरे । ‘अहिले ल्याईएको सुन्दरी तोप आकारका हिसावले सानो हो, ठूलो तोप अर्गा कहाँ छ ? त्यसको पनि खोजी हुनुपर्छ, उनले भने ।

नारायण नगरपालिका–२ का ७३ वर्षिय लालबहादुर थापाले पनि अर्गा तोप फिर्ता गरिनुपर्ने बताए । ‘जिल्लासँग जोडिएको ऐतिहासिक दुई वटामध्ये एउटा तोप फिर्ता हुनु खुसीको कुरा हो, तर अर्गा तोप गुमनाम हुनु सुखद् पक्ष होइन्,’ उनले भने । अब अर्गा तोपको पर्खाइमा रहेको उनको भनाई छ ।

लालबहादुर र पदमजस्तै तोप फिर्ता हुँदा जिल्लाबासी खुसी छन् । जिल्ला सदरमुकामको पुरानो बजारस्थित ऐतिहासिक कोतगढीमा परापूर्वकाल देखि नै सुन्दरी र अर्गा नामका दुईवटा तोपहरु थिए । तत्कालिन समयमा जिल्लामा बडा दसैं लगायतका महत्वपूर्ण चार्डपर्वहरूमा तोपको बढाईपछि मात्र पूजाआजा तथा टिका थाप्ने चलन थियो । २०२८ सालमा दैलेखस्थित नेपाली सेनाको ज्वाला दल गुल्म सुर्खेतको मंगलगडी चोकमा स¥यो ।

गणसँगै सुर्खेत लगिएको दुईवटा तोपहरू ‘सुन्दरी र अर्गा’ मध्ये सुन्दरी तोप गत माघ २१ गते फिर्ता ल्याईएको थियो । सेनाको पश्चिम पृतना नेवारे सुर्खेतबाट फिर्ता ल्याईएका सुन्दरी तोप ऐतिहासिक कोतगढीमा पुर्नस्थापना गरिएको हो । सेना र दैलेखको इतिहाससँग जोडिएका तोप ५१ वर्षपछि दैलेखमा पुर्नस्थापना गरिएको हो । सुन्दरी तोप र ८१ थान गोला कोतगढीमा राखिएको छ ।

अर्गा तोप भने अझैं गुमनाम छ । जिल्लाको ऐतिहासिक एवं पुरातात्विक सम्पतीको रुपमा रहेको अर्गा तोप खोजी गरेर फिर्ता ल्याउनुपर्ने स्थानीय सरस्वती श्रेष्ठले बताइन् । ‘एउटा तोप फिर्ता भयो, त्यसमा हामी खुसी छौँ, तोपलाई कोतगढीमा खुल्ला आकासमूनी राखिएको छ, सुरक्षाको चुनौतीपनि उत्तिकै छ,’ उनले भनिन् ।

नारायण नगरका मेयर लोमन शर्माले कार्यविधि निर्माण गरेर कोतगढी र त्यहाँ राखिएको तोपको संरक्षण गर्ने बताए । तोप पुर्नस्थानासँगै नारायण नगरपालिकाले सुरक्षा र रेखदेखको जिम्मा लिएको मेयर शर्माको भनाई छ । नेपाल एकिकरणको सिलसिलामा निर्माण गरिएको ऐतिहासिक कोतगढीमा तत्कालिन समयमा निर्माण भएका र लामो समय गुमनाम रहेको तोप पुर्नस्थापना गरिएको मेयर शर्माको भनाई छ । उनले तोप पुर्नस्थापनाले दैलेखको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए ।

कोतगढीमा राखिएको ऐतिहासिक तोपलाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने सेनाको पश्चिम कमाण्ड हेडक्वाटरका सेनापति उपरथी प्रेम शाहीले बताउँछन् । अर्गा तोप अझैँसम्म फेला नपरेको उपरथी शाहीले बताए । सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट ल्याइएको थियो । उक्त तोपको खोजी भइरहेको उपरथी शाहीले बताए । उनले ऐतिहासिक तथा पुरातात्विक महत्वको संरचनाहरुको हेरचाहा, रेखदेख र संरक्षणमा स्थानीय तहले विशेष चासो राख्नुपर्ने बताए ।

कालीदत्त गुल्म काँडाचौर ब्यारेकका गुल्मपति सेनानी विनोद चौलागाईले कोतगढीमा सुन्दरी तोप पुर्नस्थापनासँगै सेनाको मातहतमा रहेको ब्यारेक वनमा झण्डै एक हजार पाँच सयविरुवा रोपिएको छ । चिउरी, सल्ला, रिट्ठा, लप्सी लगाएतका विरुवा रोपण गरिएको सेनानी चौलागाईले जानकारी दिए ।

शब्द तस्विर : हिक्मतबहादुर नेपाली ।

प्रतिक्रिया