सवारी दुर्घटना न्यूनिकरण गर्न दैलेखमा चालकहरुलाई प्रशिक्षण

सवारी दुर्घटना न्यूनिकरण गर्न दैलेखमा चालकहरुलाई प्रशिक्षण

दैलेख : सवारी दुर्घटना न्यूनीकरणको लागि दैलेखमा सवारी चालकलाई प्रशिक्षण दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दैलेखको सहकार्यमा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुसहित ७८ जनाको उपस्थितिमा मर्यादित यातायात सेवाका लागि सार्वजनिक सवारी चालक तथा सहचालकहरुसंग ट्राफिक सचेतनामुलक प्रशिक्षण तथा अन्तरक्रिया गरिएको हो ।

सवारी दुर्घटनाहरु चालकको कारण पनि हुने भएकोले सवारी साधनका चालकलाई लक्षित गरेर सचेतना अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सवारी चलाउँदा सिट क्षमता अनुसार यात्रु राख्ने, हेलमेट लगाउने, सवारी चालकले मदिरा सेवन नगर्ने, सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा जिम्मेवार बनेमा दुर्घटनामा कमी आउने दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहले बताए । उनले सवारी साधन चलाउँदा सानो लापरबाहीले पनि दुर्घटना हुने भएकाले सबै पक्ष मिलेर दुर्घटना न्यूनीकरणमा ध्यान दिन आग्रह गरेका छन् ।

सवारीसाधन चलाउँदा ओभरटेक नगर्ने र दूरी कायम गरेर सवारीसाधन चलाउनका लागिसमेत प्रहरीले चालकलाई सम्झाउने बुझाउने गरेका छन् । प्रशिक्षण तथा अन्तरक्रियामा क्षतीपूर्तीसंग सम्बन्धित (सवारी सम्बन्धि मृत्यु, अंगभंग तथा घाउ) विद्यमान नेपालको कानून बारेमा प्रस्तुतिकरण गरिएको थियो ।

यस्तै कार्यक्रममा चालकहरूलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिने र दुर्घटना कम गराउने उद्देश्यका साथ अभियान संचालन गरिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रहरी साहयक निरीक्षक खड्क बहादुर रानाले बताए । यो अभियान निरन्तर संचालन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया