पहाडको मुहार फेर्दै मध्यपहाडी लोकमार्ग

पहाडको मुहार फेर्दै मध्यपहाडी लोकमार्ग

मध्यहाडी लोकमार्गको दैलेख खण्डको लोहोरे क्षेत्र । तस्विर : विशाल सुनार ।

दैलेख : मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै दैलेख र जाजरकोट जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भइरहेका छन । गाउँबस्तीमा यातायातको पहुँच पुगेसँगै थल बजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकम बजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन् ।

पूर्वी नेपालको पाँचथर जिल्लाको चियो भन्ज्याङदेखि मध्यपहाड हुँदै पश्चिम नेपालको बैतडी जिल्लाको झुलाघाटसम्म २६ पहाडी जिल्ला हुँदै निर्माणाधीन मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय विकासमा समेत योगदान दिन थालेको छ । एक हजार ८७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले २१५ बस्तीलाई जोडेको छ । मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनतालाई लाभ पु¥याउने लक्ष्यका साथ आयोजना निर्माण भइरहेको छ ।

‘मध्यपहाडी बनेसँगै गाउँमा भएको विकास त सपना जस्तो भएको छ, पहिले पहिले नुन तेलको जोहो गर्न हप्तौँ लगाएर नेपालगञ्ज, बर्दिया झर्नुपर्ने बाध्यता थियो, पहाडका अप्ठ्यारा बाटा, घोप्टे भीर काट्दै बबई नदी, भेरी नदी तरेर, कट्टीको गल्छी पार गर्नुपथ्र्यो । तर, त्यस्ता भीर काटेर कालोपत्रे सडक आउँदा पुनर्जन्म भएको अनुभव भइरहेकोे छ,’ भगवतीमाई गाउँपालिका–१ का ९३ वर्षीया देउराम थापाले भन्छन् ‘सपना होकी विपना भनेर विश्वास गर्न सकिँदैन । दुर्गमका ग्रामीण बस्तीका बीचमा रहेका दुखःको पहाड भत्किएका छन् ।’

मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत सर्वाधिक लामो १२५ किलोमिटर सडकखण्ड दैलेख जिल्लाभित्र पर्दछ । दैलेखमा भगवतीमाई गाउँपालिका–४, सुयडा क्षेत्रबाट प्रवेश गरी दैलेखका आठवटा पालिकालाई समेट्दै आठबीस नगरपालिका–३, बेलखेतबाट सुदुरपश्चिम प्रदेश प्रवेश हुन्छ । जाजरकोटको छेडाघाट नगरपालिका–३, दशेराकी कलशी बुढाले समयमा उपचार नपाएर कयौँले अकालमै ज्यान गुमाएको स्मरण गर्दै भन्छिन् ‘अब भने सानोतिनो बिमारीले ज्यानै फाल्नुपर्दैन । भीर काटेर बाटो आयो, भाग्य आएको जस्तो लागेको छ ।’

लोकमार्गले पहाडका अक्करे भीर मात्र होइन नदीले अलग्गिएका दुई किनाराका बस्तीलाई समेत जोडेको छ । नारायण नगरपालिका–११, लोहोरे खोलामा मध्यपहाडी आयोजनाले निर्माण गरेको पक्की पुल नजिकै होटेल व्यवसाय गर्र्दै आएका अमृतकुमार रावतले भन्छन् ‘सुनसान गाउँहरू बजार बन्दै गएको छन, स्थानीय उत्पादनले बजार पाएको छ । घरघडेरीको मूल्यसंँगै वित्तीय संस्थाहरूले लगानी पत्याउन थालेका छन् ।’

भगवतीमाई नगरपालिका–४, मनघरकी वसन्ता थापाले लोकमार्ग निर्माण कार्यमा संलग्न छिन् । ‘पुरुषहरू रोजगारीका लागि भारतलगायत देश पुगेका छन्, हामी घरमै परिवार धानेर अयोजनामा काम पाएका छौँ,’ उनले भनिन् । रोजगारी र अवसरको खोजीमा होस् या अभावका कारण परिवारसहित हुने बसाइँसराइ निरुत्साहित गर्न पनि यो आयोजनाले ठूलो सहयोग गरेको छन् । स्थानीय नागरिक रोजगारीमा जोडिएका छन् । स्थानीय पुरुषहरू मात्र नभएर प्रत्येक घरका महिला रोजगारीमा जोडिएका छन् ।

रुकुमपश्चिम, जाजरकोट, दैलेख र अछामकोे बीचबाट पूर्व–पश्चिम भएर सडक निर्माण भएपछि नेपाल सरकारले तय गरेका एक सयवटा पर्यटकीय गन्तव्यको सूचीमा परेका पर्यटकीय क्षेत्रमध्ये छवटा गन्तव्यसमेत यस लोकमार्गमा जोडिएका छन् । आन्तरिक वा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।

आयोजना कार्यालयका लेखा अधिकृत भूपेन्द्रबहादुर मल्लका अनुसार आर्थिक र भौतिक प्रगति सन्तोषजनक छ । टेन्डर प्राप्त गरेका छ वटामध्ये दुईवटा खण्डको काम समयअगावै सम्पन्न भएका छ । यस्तै चारवटा खण्डको प्रगति ९५ प्रतिशतभन्दा बढी छ । कुम्री र रुमखोलाको पुलको हकमा भने सपना आरभी जेभीले नौ करोड २७ लाख रुपियाँमा टेन्डर प्राप्त गरेको र सो पुल निर्माणको ९५ प्रतिशत काम तोकिएको समयअगावै सम्पन्न हुने अवस्थामा छ ।

लोहोरेखोलादेखि जाजरकोट जिल्लाको थलागाडसम्म ५२ किलोमिटर सडक कालोपत्रेसहित स्तरोन्नति कार्य भइरहेको छ । छ वटा निर्माण कम्पनीको ठेक्का रकम कुल दुई अर्ब ६५ करोड रुपियाँ रहेको आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए ।

आयोजना प्रमुख युवराज पोखरेलका अनुसार पुष्पलाल लोकमार्ग योजना कार्यालय दैलेखअन्तर्गत पूर्र्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, दैलेख र अछाम गरी पाँच जिल्ला यस योजना कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्दछ । रुकुमपूर्वदेखि अछामसम्म योजनाको जिम्मेवारीमा रहेको करिब ४४० किलोमिटर सडक आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई गति दिइएको बताइएको छ ।

प्रतिक्रिया