गुराँस गाउँपालिकाले श्रम बैंक स्थापना गर्ने

गुराँस गाउँपालिकाले श्रम बैंक स्थापना गर्ने

गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष शिवाकुमारी खड्का ।

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाले ‘गुराँस श्रम बैंक’ स्थापना गर्ने भएको छ ।गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा श्रम बैंक स्थापना गरिने उल्लेख छ । प्राथमिकता प्राप्त क्षेत्रमा स्रोत सुनिश्चतता र पूर्वाधार निर्माण कार्यलाई भनसुन र पहुँचका आधारमा नगरी विधि र वस्तुनिष्ट एवं मागमा आधारित बनाउनका लागि ‘परियोजना बैंक’ निर्माण गरिने भएको हो ।

परियोजना बैंकमा रहेका योजनाहरुको निर्माण तथा मर्मतका लागि ‘गुराँस श्रम बैंक’को स्थापना गरिने उपाध्यक्ष खड्काले बताइन् । उनका अनुसार श्रम बैंक स्थापना गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

‘हामी बनाउँछौ हाम्रो सडक’ भन्ने नारालाई आत्मसाथ गर्दै पालिकाभित्रका सडकहरुको स्तरोन्नतीका लागि प्रधानमन्त्री, मुख्यमन्त्री रोजगार कार्यक्रम र गुराँस श्रम बैंकमा आबद्ध श्रमिकहरुलाई परिचालन गरी बाह्रै महिना सञ्चालनमा ल्याउने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । गाउँपालिकाले विभिन्न ग्रामिण एवं कृषि सडक निर्माण तथा स्तरोन्नतीका लाग ५३ लाख रुपैयाँ छुट्याएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९-०८० लाई खरको छानो मुक्त घर परिवार ढुक्क अभियान वर्षको रुपमा मनाउने भएको छ । गाउँपालिकाका ६ सय बढि घरलाई खरको छानोमुक्त बनाउन संघीय विशेष अुनदान अन्तरगर्त ३ करोड र संघीय सशर्त अनुदान अन्तरगर्त ४२ लाख गरी ३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खड्काले बताइन् ।

गाउँपालिकाले कृषकसँग अध्यक्ष कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । उक्त कार्यक्रम अन्तरगर्त एक व्यवसायीक कृषक एक सिंचाई पोखरी, रैथाने बीउ संरक्षण, बाँझो जग्गाको प्रयोग उत्पादन सहयोग, नदि किनारमा कृषि कृषकको आय वृद्धि कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले विभिन्न सिंचाइ योजना निर्माण गर्न ३६ लाख बजेट छुट्याएको छ ।

पशुपालनतर्फ पशु स्वास्थ्य शिविर, कृषि तथा पशु विमा, मल बीउ खरिद तथा बिक्री केन्द्र स्थापना गर्न १० लाख बजेट छुट्याएको छ । गाउँपालिकाले उपाध्यक्षसँग उद्यमी कार्यक्रमअन्तर्गत उत्कृष्ठ उद्यमी सम्मान तथा सिप प्रर्दशनी, कंक्रिट इट्टा बल्क स्लेट र नेपाली कागज उद्योग सञ्चालन साझेदारी, वैदेशिक सिप पुनःस्थापना कार्यक्रम, गुराँस औद्योगिक ग्राम स्थापनाका लागि ३६ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले पर्यटन प्रवर्धन गर्न ३७ लाख बजेट विनियोजन गरेको छ । पालिका भित्रका विभिन्न क्षेत्रमा बाह्य लगानी भित्र्याउनका लागि गुराँस लगानी सम्मेलन गर्न गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ ।  सहकारी संस्थाहरुको क्षमता विकास र गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी कार्यक्रम सञ्चालन गर्न ४ लाख, सार्वजनिक ऐलानी जग्गा संरक्षण र सार्वजनिक बाँझो जग्गाको व्यवसायीकरण गर्न ६ लाख बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सामाजिक विकासतर्फ हरियाली विद्यालय विशेष कार्यक्रम पढ्दै कमाउँदै कार्यक्रम, उपाध्यक्षको इच्छा–छोरी बुहारीलाई उच्च शिक्षा, डाक्टर, पाइलट, चार्टरएकाउन्टेन्ट र इन्जिनियर पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा छात्रावृत्ति प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गर्न ४४ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

गाउँपालिकाले गर्भवतीसँग उपाध्यक्ष लगायतका कार्यक्रमका लागि २६ लाख तथा दलित तथा एकल महिला घरमुली हुने बेरोजगार परिवारका सम्पूर्ण सदस्यहरुको निशुल्क स्वास्थ्य बिमा गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले खानेपानी तथा सरसफाइतर्फ एक करोड ५१ लाख, संस्कृति प्रवद्र्धनतर्फ १० लाख बजेट छुट्याएको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत जोखिममा रहेको बालबालिकाको संरक्षण तथा जीवन सुरक्षा कोष कार्यक्रम र यौनिक तथा लैङ्गिक अल्पसंख्यकका तथा सीप विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न २७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पालिकाले युवा तथा खेलकुदतर्फ ८ लाख ५० हजार, वन तथा वातावरणतर्फ २० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ५७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।  गाउँपालिकाले लोककल्याणकारी कार्यहरु जेष्ठ नागरिक मिलन केन्द्र स्थापना, दुव्र्यसनि पुनःस्थापना, गुराँस ग्रामिण सुलभ बस सेवा सम्भाव्यता अध्ययन लगायत कार्यहरु गर्न १४ लाख रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले वडा समितिको निर्णयका आधारमा सम्बन्धीत वडा भित्रका योजना तथा कार्यक्रमहरु छनौट गरी सञ्चालन गर्न ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पालिकाको सामाजिक आर्थिक भौतिक पूर्वाधार लगायतको क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेका विकास साझेदार संघ संस्थाबाट ५ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने प्रतिबद्धता तथा कार्यक्रम पेश भएको गाउँपालिका उपाध्यक्ष शिवाकुमारी खड्काले बताइन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्न गाउँपालिकाको सञ्चित कोषमा ५४ करोड ११ लाख २८ हजार रुपैयाँ बजेट विजियोजन गरेको छ । सञ्चित कोष र संघ संस्था समेत गरी गाउँपालिकाले ६० करोड ४ लाख २८ हजार रुपैयाँ बजेट पारित गरेको प्रवक्ता दिपेन्द्र ओलीले जानकारी दिए ।

जसमा चालुतर्फ ३९ करोड ७३ लाख ४९ हजार अर्थात ६६.१८ प्रतिशत र पुँजिगततर्फ २० करोड ३० लाख ७९ हजार अर्थात ३३.८२ प्रतिशत रहेको उनले बताए । गुराँस गाउँपालिका गाउँसभाको १० औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम पारित भएको प्रवक्ता ओलीले बताए ।

प्रतिक्रिया