कोरोना महामारीपछि खस्कियो एसईईको नतिजा, परीक्षा बोर्ड भन्छ : नतिजा सन्तोषजनक

कोरोना महामारीपछि खस्कियो एसईईको नतिजा, परीक्षा बोर्ड भन्छ : नतिजा सन्तोषजनक

काठमाडौं : कोरोना महामारीको समयमा नेपालको माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको विवरण अनुसार २०७५ सालमा भन्दा २०७८ सालमा विद्यार्थीको सिकाइ उपलब्धी कमजोर देखिएको छ । २०७६ र २०७७ सालको एसईईको नतिजा भने राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले पठाएको अंककै आधारमा सार्वजनिक गरेको थियो ।

२०७५ सालपछि राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष मात्र आफैं उत्तरपुस्तिका परीक्षण गरेको हो । जसमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी २०७५ सालमा भन्दा यो वर्ष घटेका बोर्डले जनाएको छ । २०७५ सालमा ३.६ देखि ४.० जीपीए ल्याउने परीक्षार्थी कुल परीक्षार्थीको ३.८३ प्रतिशत रहेको थियो । तर २०७८ सालमा भने यो ग्रेड ल्याउने विद्यार्थी जम्मा १.९४ प्रतिशत मात्र छन् । त्यस्तै ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा ११.१३ प्रतिशत रहेकामा यो वर्ष ८.४ मात्र रहेका छन् ।

यसभन्दा तलको जीपीए ल्याउने परीक्षार्थी भने २०७५ सालमा भन्दा बढी छ । २.८ देखि ३.२ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा १३.८८ प्रतिशत रहेकामा अहिले १४.१० प्रतिशत रहेका छन् । त्यस्तै २.४ देखि २.८ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा १६.६७ प्रतिशत रहेकामा २०७८ सालमा १८.३१ प्रतिशत रहेको छ ।

२ देखि २.४ जीपीए ल्याउनेहरु २०७५ सालमा २१.३८ प्रतिशत रहेकामा २०७८ सालमा २२.७४ प्रतिशत रहेको राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कोभिड-१९ महामारीका कारण विद्यार्थीको सिकाइमा असर गरेकाले माथिल्लो जीपीए ल्याउनेहरु घटेको हुन सक्ने बताए । यद्यपि उनी यो नतिजालाई सन्तोषजनक मान्नुपर्ने बताउँछन् ।

‘तुलनात्मक रुपमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको छ । यो समयमा र नियमित पढाइ हुन नसक्दा विद्यार्थीको सिकाइ नभएको हुनसक्छ’ उनले भने, ‘यद्यपि यो नतिजा दुख लाग्दो पनि होइन । सन्तोषजनक मान्न सकिन्छ ।’ विषयगत नतिजामा पनि यो वर्षको परीक्षामा धेरै विद्यार्थीले गणित विषयमा कम ग्रेड ल्याएको अध्यक्ष शर्माले बताए । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ को एसईई नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया