सोसेक नेपालको २२ वटा परियोजना तथा कार्यक्रम, साढे १२ करोड बजेट खर्च

सोसेक नेपालको २२ वटा परियोजना तथा कार्यक्रम, साढे १२ करोड बजेट खर्च

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सामाजिक क्षेत्रमा साढे १२ करोड बराबरको बजेट खर्चिएको छ । महिला, दलित, बालबालिका, विपन्न समुदाय, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक तथा लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले विभिन्न परियोजना तथा कार्यक्रममार्फत समुदाय स्तरमा १२ करोड ५७ लाख ३६ हजार ६ सय ९४ बजेट खर्च गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा विकास साझेदार, सहयोगी निकायहरुसँगको साझेदारीमा संस्थाले सञ्चालन गरेको २२ वटा विभिन्न कार्यक्रम तथा परियोजनाहरु र आन्तरिक कोषतर्फको उक्त बजेट खर्चिएको संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख हीरासिंह थापाले बताए । संस्थाको हालै सम्पन्न वार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठिमा कार्यक्रम तथा परियोजनाहरु तथा बजेट खर्चबारे समिक्षा समेत गरेको छ ।

संस्थाका महासचिव महेन्द्रकुमार कार्कीको अध्यक्षतामा सञ्चालन भएको दुईदिने गोष्ठि आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न विकास साझेदार सहयोगी निकायहरुसँगको साझेदारीमा दैलेख, अछाम र कालिकोट जिल्लामा सञ्चालन भएका कार्यक्रम तथा परियोजनाहरु सहित आन्तरिक कोषतर्फका क्रियाकलापहरुको समिक्षा गर्दै सम्पन्न भएको छ ।
कार्यक्रम तथा परियोजनाहरु अन्तरर्गतका क्रियाकलापहरुको वार्षिक प्रगति, उपलब्धी, समस्या, चुनौती, सफल अभ्यास, सिकाई, आगामी योजना तथा प्राथमिकताका क्षेत्र, सफलताका कथा, संस्थागत विकास, कर्मचारी क्षमता विकासका लागि गरिएका प्रयासहरु समेटिएको प्रस्तुतीकरण गरि छलफल तथा समिक्षा समेत गरिएको छ ।

गोष्ठिले युवा मैत्री अभियान सञ्चालन गर्ने तथा ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ र ‘बाल विवाह विरुद्धको हाम्रो प्रतिबद्धता’ को अभियानलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय समेत गरेको संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख थापाले बताए । थापाका अनुसार संस्थाले यो वर्ष रजत जयन्ती मनाउँदैछ । सोसेक नेपालको २०७९ भदौ २५ गते स्थापनाको २५ औँ वर्ष पुगेको अबसरमा रजत जयन्ती मनाउन लागेको संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख थापाले बताए ।

संस्थाले लिएको आर्थिक वर्ष २०७९/०८० को एक वर्षे रणनैतिक योजनाको लक्ष पुरा गर्न विभिन्न कार्य गर्ने निर्णय गरेको छ । जलवायू परिवर्तनको असरलाई न्यूनिकरण गर्न सबै कार्यक्रम तथा परियोजनामार्फत वृक्षारोपण गर्ने, बिहेवारी २० वर्ष पारी अभियानलाई व्यापक बनाउँदै कार्यरत स्थानीय तहमा पैरवीको लागि वकालत तथा अभियान सञ्चालन गरिने संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ अभियान सञ्चालन गर्ने, जीवनोपयोगी शिक्षालाई व्यवहारिक बनाउन कार्यक्रम तथा परियोजनाका कार्य क्षेत्रमा किशोर किशोरी समुह गठनमा सहजिकरण तथा परिचालन संस्थाले गर्ने भएको हो ।

कार्यक्षेत्रमा हुने लैंगिक हिंसा न्यूनिकरणका लागि पुरुष समुह र किशोर किशोरी समुह गठन गरी कार्यगत सञ्जाल गठन, विपद् संकटासन्न समुदाय पहिचान गरी पूर्व सचेतना तथा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने संस्थाले योजना अघि सारेको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए । उनका अनुसार संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहित संरक्षणको लागि सोसेक नेपाल कार्यरत रहेको सबै स्थानीय तहमा वकालत तथा पैरवी गर्नेछ ।

सोसेक नेपालको कार्यक्षेत्रमा विपद् व्यवस्थापन ऐनमा व्यवस्था भए बमोजिम स्थानीय विपद् व्यवस्थापन ऐन बनाउन सहजिकरण गरी गाउँपालिका र नगरपालिका स्तरिय समिति गठन र कार्ययोजना निर्माणमा सहजिकरण गर्ने योजना लिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया