सच्चियो कविराम र कर्णबहादुरको नागरिकता

सच्चियो कविराम र कर्णबहादुरको नागरिकता

नाम सच्चिएको नयाँ नागरिकता पाएका कविराम कामी र कर्णबहादुर विक। तस्बिर : हिक्मतबहादुर नेपाली।

दैलेख : नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ।नेपाली नागरिकतामा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो।

साविक मेहेलतोली गाविस-६ हाल भगवतीमाई गाउँपालिका-३ मेहेलतोलीका कविराम र साविक कट्टी गाविस-६, हाल भगवतीमाई गाउँपालिका-५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो। आइतबार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकता जारी गरेको हो। तत्कालिन मेहेलतोली गाउँ पञ्चायत-६, हाल भगवतीमाई गाउँपालिका-३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुगेका छन्।

तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए। तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उनलाई ‘कुकूर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो।   नागरिकतामा अपमानजनक नाम भएको विषयमा विभिन्न संचार माध्ययममा समाचार प्रकाशन गरेको थियो। साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो।

गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए।

कविरामजस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साविक कट्टी गाविस-६, हाल भगवतीमाई गाउँपालिका-५ का कर्णबहादुरको पनि नागरिताको महलमा कर्णबहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका छन्।  नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए।

आवश्यक प्रक्रिया पुर्याएर कविराम कामी र कर्णबहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। ‘हामीले नागरिकतामा कुकूर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकलाई नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने।  उनले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरुलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन्।

प्रतिक्रिया