किन खस्किदैछ शिक्षाको गुणस्तर

किन खस्किदैछ शिक्षाको गुणस्तर

दैलेख : गुराँस गाउँपालिका वडा नं १, २ र ५ का विद्यालयको अनुगमन गरेका गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर विसीले विद्यालय शिक्षाको गुणस्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । यो वर्षको एसइई परिक्षामा अधिकाँश बालबालिकाले २.५ जिपिए भन्दा बढी नम्बर प्राप्त गर्न नसकेको उनको भनाई छ । यो पालिकाको लागि दुर्भाग्यपूर्ण रहेको अध्यक्ष विसीले बताए ।

‘यो अहिलेको रिजल्ट मात्रै होइन १० वर्ष अगाडी यस्तै परिणाम देखिन्छ, मलाई चिन्ता लाग्छ, हाम्रो यत्रो लगानी छ तर उपलब्धि भने सोचे जस्तो हुन् सकिरहेको छैन्, जसले गर्दा विद्यार्थीले राम्रो कलेजमा प्रवेश पाएका छैनन्,’ उनले भने । ‘हामी ठुला भौतिक संरचना निर्माण गर्न लागेका छौं, भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तर नबढ्ने रहेछ भन्ने कुरा अहिलेको रिजल्टले राम्रोसँग जानकारी दिएको छ, हामी सुविधा सम्पन्न भवन त बनाउँला तर विद्यार्थीको सिकाईस्तर बढ्न सकेन भने भौतिक संरचना मात्रै बनाएर भएन्, हामीले विगतमा कुन त्यस्तो विद्यार्थी उत्पादन ग¥यौ जसले देशमा ख्याती कमाउन सफल भयो ? देश र समाजका लागि केही ग¥यो ? त्यसैले शिक्षामा गर्व गर्ने ठाउँ देखिदैन् ।’

सहयात्रा दोस्रो परियोजनाको अनुगमन गरेका अध्यक्षले विद्यालयको अन्य व्यवस्थापनका बारेमा पनि चासो देखाएका थिए । ‘भनिन्छ, बालबालिकाहरु भगवानका रुप हुन, हामीले बालबालिकाको भविश्यमाथी खेलवाड गर्नु हुन्न, विद्यालयमा भएका सबै समस्याको समाधानका लागि विद्यालय व्यवस्थापन समितिले पहल गर्नुपर्छ, अहिलेका विद्यालय व्यवस्थापन समितिहरुले चाहे जस्तो काम गर्न सकिरहेका छैनन्, पालिका विद्यालयको व्यवस्थापकीय क्षमता बढाउन लागेको छ,’ उनले भने । शिक्षाको गुणस्तर बृद्धिका लागि सबैले पहल गर्न उनले आग्रह गरे ।

विद्यालय सुधार गर्न अभिभावकको भूमिका पनि त्यतिकै हुने अध्यक्ष विसीको भनाई थियो । विद्यालयमा प्रत्येक दिन एक जना अभिभावकले अनुगमन गर्ने व्यवस्था गर्दा शिक्षाको गुणस्तर बृद्धिमा सहयोग पुग्ने उनले बताए । ‘महिनामा एक दिन एक जना अभिभावकले विद्यालयमा आएर विद्यालयका समस्या बुझने गरौँ, अभिभाव १० बजे आउँदा शिक्षक पनि १० बजे नै आउनु पर्छ, शिक्षक १० बजे पुगे बालबालिका पनि १० बजे नै आउने गर्छन्, अभिभावकले दिनभरी विद्यालयमा देखेका गतिविधिहरुलाई नियालेर विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गर्ने गरौं जसले गर्दा अभिभावकहरुमा विद्यालयप्रति अपनत्वको भावना पनि जगाउँछ,’ उनले भने । ।अभिभावकको सक्रियताले विद्यालय सुधार गर्न सहयोग गर्ने उनको भनाई छ । विद्यालयमा आउने अभिभावकलाई खाजा नास्ताको व्यवस्था पालिकाले गर्ने उनको भनाई थियो ।

विद्यालयमा निर्माण सामाग्री छरपष्ट राखिएको प्रति पनि उनको चिन्ता थियो । लथालिंग फालिएका निर्माण सामाग्रीले बालबालिकालाई जोखिम बढाउने अध्यक्ष विसीले बताए । ‘फिल्डमा निर्माण सामाग्रीहरु छन्, यस्ता निर्माण सामाग्रीले बालबालिका असुरक्षित देखिन्छन्, सम्भावित हुने जोखिमबाट सुरक्षित गर्न निर्माण स्थललाई पनि निषेधित गर्नुपर्नुपर्छ, यस्तो निर्माण क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा राख्दा राम्रो हुने हुन्छ ।’

अनुगमन कै क्रममा गाउँपालिका उपाध्यक्ष शिवा खड्काले शिक्षा मानव विकासको महत्वपूर्ण पाटो भएकाले शिक्षाको गुणस्तर बृद्धि गर्न पालिकाले गर्नुपर्ने सबै काम गर्न तयार भएको सबताईन । ‘गुराँसमा शिक्षाको गुणस्तरलाई अझै बढाउन पालिका थप लगानी गर्न तयार छ, हामीले जे गरेका छौं त्यो शिक्षामा अझै राम्रो गर्नका लागि गरेका हौँ,’ उनले    भनिन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम निर्देशक नवराज वि.सि.ले गुराँसका अधिकाँश विद्यालयहरुको कक्षा कोठा व्यवस्थित रहेको बताए । ‘विद्यालयमा रंगरोगन गरिएको छ, बाहिरी वातावरण राम्रो देखिन्छ, यतिले मात्रै हुँदैन्, विद्यार्थीको सिकाई उपलब्धि र विद्यालयले लक्ष निर्धारण गरेका छन् कि छैनन् ? हाम्रो शिक्षा १० वर्षपछि कस्तो हुँदैछ ? हामी कस्ता विद्यार्थी उत्पादन गर्दैछौं ? सरकारले गरेको लगानी अनुसार सिकाई उपलब्धिमा बृद्धि भएको छ कि छैन ? यसकै आधारमा विद्यालयले योजना निर्माण गर्नुपर्नेहुन्छ,’ विसीले भने । शिक्षाको गुणस्तर बढाउन संघीय सरकार मात्रै नभएर स्थानीय सरकारपनि त्यतिकै जिम्मेवार भएको उनको भनाई थियो । ‘विद्यार्थीका वास्तविक समस्या के हुन र समाधान कसरी गर्न सकिन्छ भन्ने परिपाटीको विकास गरौं,’ उनले भने ।

अनुगमन गरिएका अधिकाँश विद्यालयहरुका शिक्षक, अभिभावक र बालबालिकाहरुले विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दि नभएको, विद्यालयमा घेरवारको समस्या, भौतिक संरचनाको अभाव, छात्र छात्राको लागि अलग शौचालय, सूचना प्रविधिको अभाव, पाठ्यक्रम प्रवोधिकरण तालिम लगाएतका समस्या रहेको बताएका थिए ।

प्रतिक्रिया