भवन चर्किएपछि प्लाष्टिकको पालमुनि बसेर पढ्न बाध्य

भवन चर्किएपछि प्लाष्टिकको पालमुनि बसेर पढ्न बाध्य

सुर्खेत :  जाजरकोटको छेडागाड नगरपालिका-१२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमुनि बसेर पढ्न बाध्य छन्।

गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए। उनले भने, ‘साउन १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ। कुनै कक्षाको त ढोका समेत खोल्न नमिल्ने भएको छ।’

कक्षा पाँचसम्म रहेको उक्त विद्यालयका दुईवटा भवनका चारवटा कोठामा क्षति पुगेको छ। जसमा कक्षा तीनदेखि पाँचसम्मका बालबालिका पढ्ने तीनवटा कक्षाकोठा र स्टोर रुम क्षतिग्रस्त बनेको प्रधानाध्यापक अधिकारीले बताए ।

प्रधानाध्यापक अधिकारीका अनुसार शीतल हुँदा पढाउन सजिलो भए पनि ठूलो झरी अथवा चर्को घाम लाग्दा पनि प्लाष्टिकमा बाफिएर पढ्न नसक्ने अवस्था छ।

उनले भने, ‘निकै दुःखले पढाइरहेका छौं। बढी घाम लाग्यो अथवा ठूलो पानी पर्दा बालकक्षा, एक, दुई कक्षाका बालबालिका भएकैमा मिलाएर पढाउने गरेका छौं।’

भवन चर्किएपछि वडा कार्यालय, प्रहरी चौकी र नगरपालिकामा जानकारी गराए पनि तत्काल केही सहयोग गर्न नसक्ने जवाफ दिएको प्रधानाध्यापक अधिकारीले बताए।

‘प्रहरी नै बोलाएर मुचुल्का उठाएका छौं। वडा कार्यलयमा समेत तस्वीरसहित निवेदन दिएका छौं’, उनले भने, ‘जानकारी गराउँदा नगरपालिकाको शिक्षा कार्यालयले सहयोग गर्न नसक्ने जवाफ दियो।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक शाहीले भने भवन चर्किएको जानकारी पाएको तर पुग्न नसकेको बताए । उनले भने, ‘भवन चर्किएको छ भन्ने सुन्नमा आएको छ तर म पुग्न सकेको छैन।’

विद्यालयमा अहिले बाल कक्षादेखि पाँच कक्षासम्म ६६ जना बालबालिका अध्ययनरत छन्। दुईजना स्थायी शिक्षक, एकजना राहत शिक्षक, एकजना बालविकास शिक्षक गरी चारजना शिक्षक र एकजना कर्मचारी छन्।

प्रतिक्रिया