२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित

          |   प्रकाशित मितिः शुक्रबार, भदौ ३१, २०७९     ::: 135 पटक पढिएको   |  

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दा पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ। जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो। राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर अध्ययन गर्ने किशोरीहरूलाई सम्मान गरिएको वडाध्यक्ष प्रवलाल शाहीले बताए।

विहेवारी २० वर्ष पारी भन्ने नारालाई व्यवहारिक रूपमा कार्यन्वयन गर्नका लागि सम्मान कार्यक्रमले थप प्रेरणा दिने उनले बताए। किर्डाक नेपाल, सेभद चिल्ड्रेन लगायतका गैरसरकारी निकायहरूको समन्वयमा गाउँपालिकाले बाल विवाह न्यूनीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उनले भने, ‘हामी तिलागुफा नगरपालिकालाई नै बाल विवाह मुक्त नगरका रूपमा विकास गर्दैछौँ। यसका लागि सबै वडाहरूमा २० वर्षसम्म विवाह नगरेका, नियमित विद्यालय आउने किशोरीहरूलाई लक्षित गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ।’
तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले तिलागुफाले बालबालिकाका क्षेत्रमा गर्ने लगानी प्रतिफलमुखी बनाउन विद्यालयको व्यवस्थापन, सचेतना लगायतका कामहरू सञ्चालन भइरहेको बताए।

उनले भने, ‘हामी बालमैत्री स्थानीय सरकार सञ्चालनका लागि सम्पुर्ण तयारीहरू गरिरहेका छौँ। यहाँका बालबालिकाहरूले सरकारप्रति गुनासो गर्ने वातावरण बनाउँदैनौँ। सबै बालबालिका विद्यालयमा ल्याउन खाजा कार्यक्रमलाई पनि प्रभावकारी बनाउन विद्यार्थीको खातामा खाजा रकम पठाउने तयारी गर्दैछौँ।’

जिल्लामा विभिन्न संघ संस्थाहरूको सहयोगमा बाल विवाह विरुद्धको अभियान, बालकल्याण अधिकारी नियुक्त, बालबालिका सम्बन्धी स्थानीय नीतिहरू, बालहित कोषको व्यवस्था, बालमैत्री स्थानीय शासन वडा घोषणा, बाल हिंसामुक्त वडा घोषणा, बालबालिकामैत्री बजेट, जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग, बालबालिकाविरुद्ध हुने हिसाको सुनुवाइका लागि निःशुल्क टोल फ्रि नम्बरको व्यवस्था गर्न थालिएको छ।



Leave a comment

Your email address will not be published.


*