तरकारी खेतीबाट मनग्ये आम्दानी

तरकारी खेतीबाट मनग्ये आम्दानी

अछाम :  काम देख्नेलाई स्वदेशमै धेरै अवसर छन् । यस्तै एउटा उदाहरण हुन्, अछाम पञ्चदेवल विनायक नगरपालिका– ३ कुरिपाटाका युवा जनक अधिकारी । कृषि विषयमा उच्च शिक्षा अध्ययन गरेका उनी तीन वर्षदेखि कृषि पेशामा रमाएका छन्। उनले भने,“ योग्यता अनुसारको काम नपाएपछि व्यावसायिक तरकारी खेतीमा लागेको हुँ । ” उनको कृषि फार्म मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँंगै जोडिएको छ । टनेल प्रविधिमार्फत तरकारीखेती गर्दै आएका उनले एक सिजनमा तीन लाख सम्मको आम्दानी गर्दै आएका छन् । फार्ममा मुख्यगरी गोलभेँडा, काउली, गोलभेडा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती रहेको छ ।

उनी आफैले तरकारीखेतीका लागि आवश्यक सबै पूर्वाधार तयार पारेका थिए । एउटा प्लास्टिक टनेलबाट सुरुआत गरिएको फार्ममा अहिले २० ओटा टनेल पुगेका छन् । बजारमा बाहिरबाट आउने विषादीयुक्त तरकारीलाई निराकरण गर्नका लागि उनले विषादीरहित तरकारीमा विशेष जोड दिएका छन् ।

बजारको माग अनुसार जग्गा थप गरी आवश्यकता अनुसार व्यवसायलाई बढाउने उनको तयारी छ । उहाँको यो कर्ममा परिवारका सदस्यको पनि साथ रहेको छ । उनले आफ्नो फार्ममा किसान पाठशालासमेत सञ्चालन गरेका छन् ।

उक्त पाठशालामा जिल्लाभित्र र जिल्ला बाहिरका किसान आएर अवोलकन गरेर त्यहाँ भइरहेको नयाँ प्रविधिको बारेमा जानकारी लिने गरेका छन् । कृषि जेटिए र आइएसि पढिरहेका कृषि प्राविधिकले त्यहाँ गएर प्रयोगात्मक अभ्याससमेत गर्ने गरेका छन् ।

आगामी दिनमा उक्त फार्मलाई बढवा दिँदै तरकारीको बीउबिजन उत्पादन गरी बजारिकरण गर्ने लक्ष्य रहेको उनको भनाई छ । जिल्लाका युवा वैदेशिक रोजगारीका लागि भारत र विभिन्न खाडी मुलुकका गइरहेका बेला युवा यसरी कृषि पेसामा आउनु उदाहरणीय काम भएको सरोकारवाला बताउँछन् ।

यस्ता नमूना किसानलाई स्थानीय सरकारले पनि सहयोग गर्ने गरेको छ । पञ्चदेवल विनायक नगरपालिका कृषि शाखा प्रमुख महाजित विकले व्यावसायिक रुपमा कृषि पेसालाई सञ्चालन गरिरहेका नमूना किसानलाई प्लास्टिक घर, थोपा सिँचाइ, बीउबिजन, कृषि औजार तथा कृषि प्रविधि सहयोग गर्ने गरेकोे बताए । उनले भने,“नमूना किसानको पहिचान गरी तिनीलाई व्यावसायिक रुपमा आकर्षण गराउनका लागि कृषि शाखाले आगामी दिनमा पनि सयोगलाई निरन्तरता दिनेछ । ”

प्रतिक्रिया