राउटेले गृहमन्त्री खाणसँग भने ‘दशैँ आयो, चामल र खसी चाहियो’

राउटेले गृहमन्त्री खाणसँग भने ‘दशैँ आयो, चामल र खसी चाहियो’

दैलेख : लोपोन्मुख जाती राउटे समुदायका सदस्यहरुले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् । आफुले निर्माण गरेको सामग्री प्रर्दशन तथा बिक्रीका लागि काठमाडौं पुगेका राउटे समुदायका प्रतिनीधिहरुले गृहमन्त्री खाणलाई भेटेका हुन् । राउटे मुखिया सुर्यनारायण शाहीसहितले गृहमन्त्रीसँग भेट गरेका हुन् । भेटका क्रममा मुखिया शाहीले आफुहरुलाई खाद्यान्न अभावको समस्या रहेको सुनाए । ‘हाम्रा जनतालाई समस्या छ, दशैं आईरहेको छ, दशैंमा मेरो जनतालाई सरकारले चामल र खसी व्यवस्था गरिदिनुप¥यो,’ मुखिया शाहीले गृहमन्त्रीसँग भने ।

राउटे समुदायको समस्या सुनेपछि गृहमन्त्री खाणले राउटे समुदायलाई परिवर्तन हुन सुझाव दिए । ‘सरकारले भने अनुसार परिवर्तन हुनुप¥यो, तपाईहरुको समस्या सरकारले सम्बोधन गर्छ,’ गृहमन्त्री खाणले भने । उनिहरु स्थायी बसोबास, लेखपढ र खेतीपातीलाई अस्वीकार गर्दै आएका छन् । समुदायका नयाँ पुस्ता केहि बालबालिका र युवाहरुले भने पढाईमा समेत ध्यान दिईरहेका छन् ।

राउटे मुखिया शाहीसहितको टोलीले आफुले निर्माण गरेको काठका भाँडाकुडा उपहार स्वरुप गृहमन्त्री खाणलाई उपलब्ध गराएका छन् । एईआइएन लक्जेम्वर्गको साझेदारीमा राउटे परियोजना सञ्चालन गरिरहेको सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले राउटे समुदायले गृहमन्त्री खाणलाई भेटेर आफ्नो समस्याहरु जानकारी गराएको बताए ।
नेपाललाई विश्वजगतमा चिनाउन र नेपालको सांस्कृतिक विविधता झल्काउन महत्वपूर्ण भूमिका खेलेका राउटेहरु दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलका छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन् । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो ।

काठका भाडाकुँडा र सामग्री बनाउनु राउटेको मुख्य सीप हो । फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्दै गर्छन । जंगलमा पुगी काठका कोशी, मदुस, झुमा, पिर्का लगाएतका सामग्री बनाई त्यसलाई गाँउमा गएर अन्नपातसँग साटेर जिविका धान्ने उनिहरुको इतिहास हो । आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई सरकारले मासिक भत्ताको व्यवस्था पनि गरेको छ ।

 

प्रतिक्रिया