रुकुम पूर्वमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट हुँदै

रुकुम पूर्वमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट हुँदै

रुकुमपुर्व :  लुम्बिनी प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि रुकुम पूर्वमा विद्यालय छनोट गरिने भएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जिल्लामा प्राप्त भएको बजेट कार्यन्वयनका लागि विद्यालय छनोट गरिने भएको हो ।

जिल्लामा पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गरी तीन गाउँपालिका मात्र रहेको छ । जसमा प्रत्येक गाउँपालिकालाई ६० लाख रुपैयाँको दरमा बजेट प्रदेश सरकारबाट प्राप्त भएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका जिल्ला समन्वय कर्ता दुर्गाबहादुर गौतमले बताए ।

पुँजीगत खर्च तर्फ ३६ लाख र चालुगत खर्च तर्फ २४ लाख गरी एक गाउँपालिकालाई ६० लाख रुपैयाँका दरमा बजेट प्राप्त भएको समन्वय कर्ता गौतमको भनाई छ । तीन गाउँपालिकाका लागि गरी जिल्लामा जम्मा एक करोड ८० लाख रुपैयाँ मात्र प्राप्त भएको छ ।

उक्त बजेटलाई कार्यन्वयनका लागि प्रत्येक गाउँपालिकामा कार्यक्रम छनोट समितिको बैठक मार्फत विद्यालय तथा कार्यक्रम छनोट गर्ने काम भइरहेको छ । प्रत्येक गाउँपालिकाबाट छनोट भएर आएका कार्यक्रम र विद्यालयलाई जिल्ला रहेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यालयले प्रदेशमा सिफारिस गरी पठाउने उनले बताए । जिल्लाबाट गरिएको सिफारिस प्रदेश सरकारबाट स्वीकृत भएर आए पछि मात्र कार्यक्रम कार्यन्वयनका लागि काम अघि बढाइने छ ।

चालु आर्थिक वर्षमा विद्यालय भवन, खानेपानी धारा मर्मत, तारबार, शिक्षकलाई आइसिटी तालिम, संगीत तथा खेलकूद सम्बन्धि तालिम एवं सामग्री वितरण लगायतको शीर्षकमा कार्यक्रम कार्यन्वयनका लागि प्रदेश सरकारबाट बजेट उपलब्ध भएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया