गैससले सहकार्यता र अनुशासनलाई बढवा दिनुहोस् : जिसस प्रमुख

गैससले सहकार्यता र अनुशासनलाई बढवा दिनुहोस् : जिसस प्रमुख

दैलेख : जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले गैरसकारी संघसंस्थाहरुले सामाजिक विकासको क्रियाकलापहरु सञ्चालन गर्दा सहकार्यता र अनुशासनलाई बढावा दिनुपर्ने बताएका छन् । एभरेष्ट क्लवको सामाजिक परीक्षण कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

प्रमुख शाहीले सुशासन र पारदर्शिताको अभ्यासमा गरिने सामाजिक परीक्षण कार्यक्रमहरुले संस्थाका कार्यक्रम सन्तोषप्रद रुपमा चलिरहेको आफूले ठानेको बताए । उनले समाजमा व्यवहार परिवर्तनका निम्ति अझैं प्रयत्न गर्न सुझाव दिए ।

गैरसरकारी संस्थाका अध्यक्ष महारुप खत्रीले सबैलाई सधैं सन्तुष्ट गराउन नसकिए पनि गैरसरकारी संस्थाहरुले गरिरहेका पारदर्शिताका अभ्यासलाई सरकारी निकायहरुले पनि अनुशरण गर्नुपर्ने सुझाव दिए ।

सुशासनकर्मी युवराज शाहीले सहजीकरण गरेको सामाजिक परीक्षण कार्यक्रममा नेकपा एमालेका पूर्णबहादुर शाही, नेपाली काँग्रेसका पदम सुनार लगायतले सुझाव दिएका थिए ।
सामाजिक परीक्षणको क्रममा एभरेष्ट क्लव स्थापना कालदेखि हालसम्म ३७ वटा परियोजना तथा कार्यक्रमहरु सञ्चालन गरिसकेको बताईएको छ ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबका कार्यकारी निर्देशक कमल खड्काले हाल संस्थाले ९ परियोजनाहरु दैलेखका ११ वटै स्थानीय तहहरुमा सञ्चालन गरिरहेको बताए । । गत आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले १२ करोड, ३९ लाख १३ हजार तीन सय २८ रुपैंयाँ खर्च गरेको कार्यकारी निर्देशक खड्काले जानकारी दिए ।

प्रतिक्रिया