कागती खेतीमा भविष्य खोज्दै गाउँका युवा

कागती खेतीमा भविष्य खोज्दै गाउँका युवा

ढोरपाटन :  “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन् ।

उनले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाएका थिए । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि लगाएका उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन थालेपछि पोखरेलको अनुहारमा खुसी छाएको छ ।

उनी भन्छन्, “कागती बहुउपयोगी रैछ भन्ने विदेश गएर चिनियो, पहिले यहाँ हुँदा खास्सै वास्ता गरिएन, विदेशबाट आएर मैले डेढ सय कागती लगाए अहिले फल दिन थालेका छन्, नयाँ जातका चार सय पचास बिरुवा दुई वर्ष अगाडि रोपेको तिनीहरु पनि फल्न थाले, अब आम्दानीको मेसो सुरु भयो ।”

तेइस वर्ष भारत र २२ महिना कतारमा बिताएका ४८ वर्षीय किसान पोखरेलले १५ रोपनी बारीमा कागती खेती गरेका छन् । । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उनका बारीमा छन् । अघिल्लो वर्ष एक लाखको कागती बिक्री गर्नुभएका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गर्ने बताउँछन्, “अघिल्लो वर्ष कागतीको सिजन रैनछ, कम बोटले मात्रै फल दिएको हुँदा आम्दानी पनि कम भयो, यसपालि कागती निकै राम्रो फलेको छ, दुई बढीको बिक्री गर्ने अनुमान गरेको छु ।”

कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उनको भनाइ छ । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेल बताउँछन् । गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको जनाउँदै रु ५० हजार बराबरको टिमुर बिक्री गर्ने उनी बताउँछन् । कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ ।

प्रतिक्रिया